डडेल्धुरा मेडिकल कलेजको निर्माण कार्य तीव्र गतिमा अघि बढाउनुपर्छ : प्रदेश सभा सदस्य जोशी
धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारा जोशीले पछिल्ला दिनमा डडेल्धुरा मेडिकल कलेज सञ्चालनबारे जनमानसमा केही आशंका सिर्जना भएकोले स्पष्ट पार्नु जरुरी रहेको बताएका छन् । डडेलधुरा मेडिकल कलेजका विषयमा आज सम्म भएको प्रगति तथा आगामी कार्ययोजनाबारे आज धनगढीमा भएको छलफलमा उनले सो कुरा बताएका हुन् ।
छलफलको संयोजन समेत गरेका जोशीले भने, ‘सुरुमा निकै तीव्र गतिमा भौतिक संरचना निर्माण कार्य भए पनि पछिल्ला दिनमा केही सुस्त भएको छ। सरकार परिवर्तन भएको छ। यसले आम जनतामा यो (मेडिकल कलेज) बन्छ वा बन्दैन भन्ने खालको आशंका बढेको अनुभव भएकोले आश्वस्त पार्न जरुरी देखिएको छ।’
प्रदेश सभा सदस्य जोशीले विगतमा गेटा मेडिकल कलेज र डडेलधुरा मेडिकल कलेजबारे विभिन्न पक्षबाट अन्योलपूर्ण धारणा आउने गरेको र अनेक बाधा व्यवधान सिर्जना हुने गरेको बताए । उनले पछिल्ला दिनमा निमार्ण कार्य केही सुस्त भएको भन्दै तीव्र गतीमा काम अघि बढाउनुपर्नेमा जोड दिए ।
छलफलमा सहभागी कैलाली क्षेत्र नम्बर ५ (ख)का प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवाले निहीत स्वार्थका लागि विभिन्न पक्षबाट गेटा मेडिकल कलेज र डडेलधुरा मेडिकल कलेजबारे भ्रामक धारणा व्यक्त हुने गरेको बताए ।
छलफलका क्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशीले डडेलधुरा मेडिकल कलेजका लागि सरकारले विनियोजन गरेको रकम तत्काल निकासा गर्न र जनशक्ति तथा अन्य आवश्यक पूर्वाधार व्यवस्थापनका लागि पहल गर्न जनप्रतिनिधि तथा अन्य सरोकारवालालाई आग्रह गरे ।
नेपाल सरकारले एउटा प्रदेशमा कम्तिमा दुई वटा मेडिकल कलेज स्थापना गर्ने नीति लिएको छ। अन्य धेरै प्रदेशमा दुई भन्दा बढी मेडिकल कलेज स्थापना भएका छन्। कर्णालीमासमेत एउटा मेडिकल कलेज छ, अर्को सुर्खेतमा खुल्ने तयारी छ।
तर सुदूरपश्चिम एउटा पनि मेडिकल कलेज सञ्चालनमा छैन। मेडिकल कलेज स्थापनाका लागि सरकारले तीन महिनाअघि डिन नियुक्त गरिसकेको छ। सरकारले न्युरो विशेषज्ञ प्रा.डा. हेमनाथ जोशीलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, डडेलधुरा मेडिकल कलेजको डिनमा नियुक्त गरेको हो। तर, अन्य आवश्यक कर्मचारी पदपूर्ति भने भएको छैन।
डिन प्रा.डा. जोशीले एमबीबीएस तहको पढाई सुरु गर्न बढी समय लाग्ने र होस्टेल, भवन, अस्पताल आदिको व्यवस्थापन गर्नुपर्ने भएकाल अहिले एमडीएमएस तहको पढाइ सुरु गर्ने तयारी गरिरहेको बताए ।
उनले बढीमा डेढदेखि दुई वर्षभित्र पढाई सञ्चालन गर्न सकिने बताए । डडेलधुरा मेडिकल कलेजका लागि सरकारले चालू आर्थिक वर्षको बजेटमा ४० करोड रुपियाँ विनियोजन गरेको छ।