डडेल्धुरा सदरमुकामको सडक मर्मत थालियो
डडेल्धुरा । महाकाली राजमार्गअन्तर्गत डडेल्धुरा सदरमुकामको सडक मर्मत सुरु गरिएको छ। सडक डिभिजन कार्यालय डोटीले जिल्ला सदरमुकामको बागबजारदेखि किर्तीपुर सम्मको सडक मर्मत सुरु गरेको हो।
कार्यालयका इन्जिनियर योगेन्द्र अधिकारीका अनुसार सडक डिभिजन कार्यालयले अमानत कार्यक्रमअन्तर्गत आफ्नै जनशक्ति प्रयोग गरेर सडक मर्मत सुरु गरेको हो। ‘महाकाली राजमार्ग मर्मतका लागि सडक डिभिजन कार्यालय डोटीले ४० लाखको लागत इस्टिमेट पास गरेको छ,’ इन्जिनियर अधिकारीले भने, ‘डडेल्धुरा सदरमुकाम क्षेत्रको सडक कार्यालयकै जनशक्तिमार्फत मर्मत हुन्छ। बाँकी मर्मतको कार्य निर्माण व्यवसायीमार्फत गर्ने तयारी छ।’
महाकाली राजमार्गअन्तर्गत डडेल्धुराको सडक मर्मतका लागि यसअघि सडक डिभिजन कार्यालयले युसुफ कन्ट्रक्सनसंग ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार गत असारमै मर्मतको काम सम्पन्न हुनुपर्ने हो।
तर चैतसम्म म्याद थप गर्दा पनि युसुफ कन्ट्रक्सनले काम सुरु नगरेपछि सडक डिभिजन कार्यालय आफैँले मर्मत थालेको जनाएको छ। महाकाली राजमार्गअन्तर्गत आनरखोलीतर्फ भने उन्नती निर्माण सेवाले मर्मतको काम गरिरहेको छ।