सुदूरपश्चिममा ३ लाख ३० हजारलाई खोप दिइँदै
धनगढी । सुदूरपश्चिमका विभिन्न जिल्लामा बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान फेरि सञ्चालन हुन लागेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यस प्रदेशले भेरोसेल र जोन्सन एन्ड जोन्सन कम्पनीका गरी करिब ३ लाख ३० हजार डोज खोप पाउने भएको हो ।
निर्देशनालयका अनुसार २ लाख डोज भेरोसेल र करिब १ लाख ३० हजार डोज जोन्सन खोपको मात्रा धनगढीबाट जिल्लामा पठाउने काम भइरहेको छ । कैलाली, कञ्चनपुर र डडेलधुरामा बुधबारदेखि खोप अभियान सुरु हुने स्वास्थ्य निर्देशक डा। गुणराज अवस्थीले बताए । अन्य जिल्लामा पनि खोप अभियानको तयारी भइरहेको छ । विश्वविद्यालय, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायात क्षेत्रका चालक तथा सहचालक, अत्यावश्यक सेवामा कार्यरत कर्मचारी र खोप अनिवार्य गरेका देशमा जाने नागरिकलाई भेरोसेलको पहिलो मात्रा खोप दिइने स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
जोन्सन एन्ड जोन्सन खोप भने ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण तथा अति अशक्त, शरणार्थी, स्वास्थ्यकर्मी र सरसफाइकर्मीले पाउने भएका छन् । कैलालीमा भेरोसेलको पहिलो मात्रा ६३ हजार र जोन्सन एन्ड जोन्सनको ४८ हजार ५ सय मात्रा खोप प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए ।
बैतडीमा बिहीबारदेखि तेस्रो चरणको खोप जिल्लामा बुधबारसम्म पुग्ने भएको छ । खोप पुगेपछि कहिले लगाउने भन्ने टुंगो लाग्ने स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर हरिश भट्टले बताए । उनका अनुसार १५र१६ गतेबाट पछिल्लो चरणको खोप लगाउने तयारी भइरहेको छ । पहिलो चरणको कोभिड सिल्ड र दोस्रो चरणमा भेरोसेल खोप पाएका छन् । पहिलो मात्रा लगाउने १९ हजार बढी भए पनि दोस्रो मात्रा ६ हजार ३ सय ५ जनाले मात्र पाएका छन् ।