विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा धनगढीमा अन्तरक्रिया
धनगढी, २ चैत । आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस । आज नेपालमा पनि ‘प्लास्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ । सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएपछि यसैको सम्झनामा यो दिवस मनाइँदै आइएको हो ।
यसैबिच धनगढीमा पनि एक कार्यक्रमका बिच विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ । धनगढी उपमहानगरपालिका र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । उपभोक्ताको अधिकारलाई नेपालको संविधानको धारा ४४ मा मौलिक हकका रूपमा राखिएको भए पनि व्यवहारमा भने सधैँ ठगिइरहनुपरेको उपभोक्ताहरूले गुनासो गरेका हुन् ।
उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता भने सधैँ मारमा पर्ने गरेका छन् । उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता भने सधैँ मारमा पर्ने गरेको कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले बताए । कुनै पनि माल समान खरिद गर्दा बिल नलिदा उपभोक्ता ठगिएको पाइन्छ । कुनै पनि बस्तु खरिद गर्दा त्यसको बिल लिनुपर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमल बहादुर पुनले बताए ।
नापतौल तथा बस्तुमा उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई कारवाही गरिने उनको भनाई छ । स्वच्छ उपभोग्य वस्तु तथा सेवा उपभोग गर्न पाउनु उपभोक्ताको अधिकार भए पनि उपभोग्य वस्तुमा हुने मिसावटले उपभोक्ताको स्वास्थ्य जोखिममा पर्ने गरेको जिल्लामा प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको भनाई छ ।
धनगढी उपमहानगरपालिकाले पनि विभिन्न समयमा बजार अनुगमन गरिरहेको धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले बताए । सधै बजार अनुगमन गर्न नसकिने हुँदा यसमा नागरिक स्वयम् पनि चलाख हुन जरुरी रहेको वडको भनाई छ ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख तथा नगरस्तरीय बजार अनुगमन समितिका संयोजक सुशीला मिश्र भट्टले मुल्यलाई मात्रै ध्यायन दिदा उपभोक्ताहरु चुक्ने गरेको बताईन । नियमन प्रकृयालाई प्रभावकारी बनाउनका लागि आम संचार माध्यम, उपभोक्ता र सरोकारवालाहरुले सक्रिय भूमिका खेल्नुपर्ने उप–प्रमुख भट्टले बताईन । धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरीबहादुर चन्दले हामी उपभोक्ताहरु नै हौ भनेर सबैले सोचेमा गुणस्तरहिन बस्तु बजार सम्म नपुग्ने बताए ।