सुदूरपश्चिमको महत्त्वपूर्ण पर्व गौराको आज मुख्य दिन,यसबर्ष घरमै गौरा मनाईदै


धनगढी : सुदूरपश्चिमको महत्त्वपूर्ण पर्व गौरा पर्वको मुख्य दिन गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव (महेश्वर) र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ ।
सप्तमीका दिन बेलुकीदेखि नै ब्रत बसेका महिला गौरापूजन गर्ने स्थलमा गई ‘पुरुषले लगाउने जनै’जस्तै धागो गौरालाई चढाएर नयाँ धागो धारण गर्ने गर्छन् । त्यस्तो धागोलाई दुबधागो भन्ने गरिन्छ । गौरा अष्टमीका दिन ब्रत बसेर महिलाहरु बिहानैदेखि गौरा खलो ( गौरा मनाउने स्थल)मा पूजाआजा गर्छन् ।
गौरा भित्र्याइसकेपछि विर्सजन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरु छुट्टाछुट्टै रुपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेल्छन् । अनुकूल तिथि हेरी विर्सजन गरिने गौरा पर्वले मानिसमा धार्मिक आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउका साथै यस पर्वमा ब्रत बसी शिव र गौराको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहेको छ ।
अठेबालीका दिन महिला र पुरुष छुट्टाछुट्टै गौरामा रमाउँछन् । पुरुषहरुले गौरा नचाउने स्थान नजिकै धुमारी, ढुस्को, देउडा खेल्ने गर्छन् । धामी झाँक्रीलाई खुसी बनाउन अठेबालीका दिन पुरुषले विशेषगरी देवताका गाथा समेटिएका खेलमा रमाउँछन् ।
महिलाहरुले गौरालाई नचाएपछि साँझतिर डालोभित्र राखिएका फलफूल तथा बिरुडालाई सफा कपडामा दुई पुरुषले आकाशमा फाल्ने गर्छन् । यसलाई फल फड्काउने भनिन्छ । त्यो फल आकाशमा चुम्यो भनेपछि चिताएको मनोकाँक्षा पूरा हुने विश्वास गरिन्छ ।
अठेबालीका दिन पुरुषहरुले आफ्नो जनै समेत फेर्न गर्छन् भने व्रतबसेका महिलाहरुले नयाँ दुबो धागो लगाउने गर्छन् । बिरुडा घरमा ल्याएर ठूलाबडाले सानालाई पूज्ने गरिन्छ । पुरुष रातिसम्म गौरा खलोमा ठाडो खेल खेल्ने गर्छन् । बर्खे खेती लगाएर फुर्सिदिला हुँदा दिउँसो खाना खाएर सबैजना गौरा खलोमा पुग्ने गर्छन् ।
गौरा मनाउन देश विदेशबाट समेत घर आउने चलन छ । गौरामा नयाँ लाउने र मीठो खाने गरिन्छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि यसबर्ष गौराको रौनक छैन ।