सुदूरपश्चिमको लोकप्रिय पर्व गौराको आज पहिलो दिन,घरघरमा तामाको भाँडोमा ‘बिरुडा’ भिजाईदै


धनगढी : सुदूरपश्चिमको लोकप्रिय पर्व गौराको आज पहिलो दिन रहेको छ । सुदूरपश्चिममा हिन्दु महिलाहरुले हर्षाेल्लासर्पूवक बिरुडा पञ्चमीदेखि पूर्णिमासम्म गौरा पर्व मनाउछ्न ।
आज गौरा पर्वको पहिलो दिन अर्थात कृष्ण पञ्चमीमा हिन्दु महिलाहरुले निराहार व्रत रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ (५ थरीका गेडागुडी) भिजाउने गर्छन् । गहुँ, केराउ, गहत, मास र गुरोस मिसाएर तामाका भाडामा भिजाउँछन्, यी ५ अन्नलाई ‘बिरुडा’ भनिन्छ । नजिकका धारा, नाउला तथा पानीका पवित्र मूलहरुमा गएर फाग गाउँदै दोस्रो दिन बिरुडा धुने परम्परा छ । गौरा पर्वमा ब्रतालु तथा श्रद्धालु महिलाहरुद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजार्अचनामा बिरुडालाई अक्षता र प्रसादका रुपमा प्रयोग गर्ने गरिन्छ । तेस्रो दिन महिलाहरुले सामुहिक रुपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौरादेवी (पार्वती)को प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् । त्यस अवसरमा दुबधागो चढाइन्छ ।
सप्तमीका दिन बेलुकीदेखि नै ब्रत बसेका महिला गौरापूजन गर्ने स्थलमा गई ‘पुरुषले लगाउने जनै’जस्तै धागो गौरालाई चढाएर नयाँ धागो धारण गर्ने गर्छन् । त्यस्तो धागोलाई दुबधागो भन्ने गरिन्छ । गौरा अष्टमीका दिन ब्रत बसेर महिलाहरु बिहानैदेखि गौरा खलो ( गौरा मनाउने स्थल)मा पूजाआजा गर्छन् ।
धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव (महेश्वर) र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ । गौरा भित्र्याइसकेपछि विर्सजन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरु छुट्टाछुट्टै रुपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेल्छन् । अनुकूल तिथि हेरी विर्सजन गरिने गौरा पर्वले मानिसमा धार्मिक आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउका साथै यस पर्वमा ब्रत बसी शिव र गौराको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहेको छ ।