क्वारेन्टिनमा करेन्ट लागेर मृत्यु भएकी ओडको परिवारलाई १० लाख र श्रीमानलाई जागिर दिइने

बोलन्या थली | ३० श्रावण २०७७, शुक्रबार
क्वारेन्टिनमा करेन्ट लागेर मृत्यु भएकी ओडको परिवारलाई १० लाख र श्रीमानलाई जागिर दिइने

कञ्चनपुर,३० साउन : क्वारेन्टिनमा करेन्ट लागेर मृत्यु भएकी कृष्णपुर नगरपालिका ६ की २३ वर्षीया राधादेवी ओडका परिवारलाई नगरपालिकाले रु १० लाख सहयोग उपलव्ध गराउने भएको छ। मृतक परिवारसँगको सहमतिअनुसार नगरपालिकाले ओडकी १२ महिनाकी छोरी अनुको खातामा सहयोग रकम जम्मा गर्ने भएको छ।

नगरपालिकाले सहयोगसँंगै मृतक ओडका श्रीमानलाई योग्यताका आधारमा कार्यालयमा जागीर दिने सहमति गरेको छ। यसैगरी ओड परिवारलाई थप राहतका लागि प्रदेश र संघिय सरकारसित पहल गर्ने तथा क्वारेन्टिन व्यवस्थापनको कमजोरी छानबिनका लागि समिति गठन गर्ने निर्णय गरिएको छ।

नगरपालिकाका प्रमुख कर्णबहादुर हमालका स्वकीय सचिव गणेशसिंह ऐरीले ओडको मृत्यु भएपछि नगर प्रमुखले सार्वजनिक रुपमा गरेको प्रतिवद्धतानुसार सहयोग गरिएको बताए। बिहीबार बिहान नगर प्रमुख हमाल र सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशीसहित मृतक ओडको घरमै पुगेर किरिया खर्चवापत रु २५ हजार परिवारका सदस्यलाई सहयोग गरेका थिए ।

मङ्गलबार कृष्णपुर– ६ स्थित महाकाली माविको क्वारेन्टिनमा करेन्ट लागेर ओडको मृत्यु भएको थियो ।

जनाअवजको टिप्पणीहरू