आजदेखि चार दिन भारी वर्षा हुने, सर्तक रहन आग्रह
काठमाडौं । सोमबारदेखि चार दिन सामान्यदेखि भारी वर्षा हुँदा जनजीवनमा समस्या आउने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको देखिएको छ ।
मौसमविद्का अनुसार न्यून चापीय रेखा जति नजिक हुन्छ उति वर्षा बढ्छ । मौमस पूर्वानुमान महाशाखाले शनिबार नै ‘विशेष मौसमी बुलेटिन’ जारी गर्दै सोमबार रातिदेखि ठूलो वर्षा हुने जानकारी गराइसकेको छ ।
सोमबार रातिदेखि न्यून चापीय रेखा नेपालको नजिक हुने अनुमान गरिए पनि आइतबार नै यो रेखा नेपालको नजिक भएको थियो । जसका कारण अब देशभर बिस्तारै वर्षा बढ्ने अनुमान गरिएको छ ।
सोमबार बिहानदेखि नै काठमाडौं उपत्यकासहितका क्षेत्रहरुमा वर्षा भइरहेको छ । यसैगरी मेघगर्जन, चट्याङसहित ठूलो वर्षाको समेत सम्भावना छ ।
सोमबार रातिदेखि भने भारती वर्षा हुने पनि महासंघले जनाएको छ । नदी किनारहरुमा बाढीका कारणले गर्दा ठूलो क्षतिको सम्भावनासमेत रहेको छ ।
यो मनसुनमा पहिलेका तुलनामा धेरैको ज्यान गइसकेको छ । ठूलो जनधनको क्षति भइसकेको अवस्थामा अब फेरि थप क्षति पुग्ने अनुमान गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाले समेत सोमबार बिहान नेपाल बाढी सूचना जारी गर्दै विभिन्न स्थानमा सचेतना अपनाउन आग्रह गरेको छ ।
अलर्ट जारी गर्दै महाशाखाले बुटबलको तिनाउ नदी बाढी मापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र बढ्दो रहेकाले कन्चनखोला, तिनाउखोलाको तटिय क्षेत्र र आसपासका साना खोलामा बाढी आउन सक्ने जनाएको छ । बिहान १० बजेसम्म सतर्क रहनसमेत आग्रह गरेको छ ।
त्यस्तै चितवन, धादिङ, तनहुँ, स्याङ्जा, कास्की, पाल्पा, गुल्मी, नबलपरासी, कपिलबस्तु, रुपन्देही आसपास भारी वर्षा भएकाले उक्त जिल्लाका साना खोलामा आकस्मिक बहाव हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरो जान सक्ने जनाएको छ । महाशाखाले सबै प्रदेशमै सचेतना अपनाउन आग्रह गरेको छ ।