कपाल खौरिन एक हजार लिएर बनेका थिए ‘नेपालका नक्कली नागरिक’
प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमी बारेमा अभिव्यक्ति दिएपछि भारतमा नेपालीहरुमाथि अत्याचार गरिएको समाचारहरु प्रकाशन भए। शुक्रवार वनारसमा ‘एक नेपाली’ को कपाल खौरिदिएको समाचार दुवै देशमा भाइरस बन्यो। नेपालका राजदूत निलम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई उक्त कार्यको विरोध पनि जनाए।
त्यसपछि प्रहरीले भिडियो खिच्नेदेखि बनाउनेहरुको खोजी गर्यो। शुक्रवार ४ जनालाई नियन्त्रणमा लिएर वनारस प्रहरीले घटनाबारे अनुसन्धान गर्यो।
हाल प्रहरी अनुसन्धानमा जबरजस्ती कपाल खौरिन लगाइएको भनिएका नेपाली नागरिक नभएको खुलेको छ। वनारसका एसएसपी अमित पाठकका अनुसार भिडियोमा कपाल खौरिएको व्यक्ति भारतीय नागरिक हुन्।
साडीको पसलको काम गर्ने धर्मेन्द्र सिंहले एक हजार रुपैयाँ लिएर कपाल खौरिएका स्थानीय मिडियाले उल्लेख गरेको छ। लकडाउनको कारण आर्थिक अवस्था कमजोर बन्दै गएपछि एक हजारको लोभमा विश्व हिन्दु सेनाका सदस्यहरुबाट उनको कपाल खौरिएको प्रहरीले जनाएको छ।
कपाल खौरिएपछि शिरमा जय श्रीरामको नारासमेत लेखेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी पनि गरेका थिए।