लिम्पियाधुसहितको नक्सा राष्ट्रिय सभामा सर्वसम्मतले पारित


काठमाडौं । नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ ।बिहीबार भएको विधेयकमाथिको मतविभाजनमा ५७ जनाले संविधान संशोधन विधेयकको पक्षमा मत दिए ।
५९ सदस्यीय राष्ट्रियसभामा एक सिट खाली छ भने अध्यक्ष गणेश तिमिल्सिना मत विभाजनमा सहभागी हुनुभएन ।अध्यक्ष तिमल्सिनाले संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन ।
विधेयक पारित हुनुअघि राष्ट्रिय सभामा रहेका दलका शीर्ष नेताहरुले विधेयकमाथि धारणा राखेका थिए । राष्ट्रिय सभामा संविधान संशोधन विधेयकमाथि कुनै संशोधन परेको थिएन । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको निशान छापमा रहेको नक्सा परिवर्तनका लागि सरकारले ल्याएको संशोधन विधेयक यसअघि प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भैसकेको छ ।
राष्ट्रपतिले प्रमाणिकरण गरेपछि नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप समेटिनेछ ।
सरकारले गत जेठ ७ गते लिम्पियाधुरासहितको क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।