लकडाउन खुकुलो : जोखिम कम भएका ठाउँमा बजार खोल्न र जोर-बिजोर प्रणालीमा गाडी चल्न दिने


काठमाण्डौ,जेठ २९ । सरकारले लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको छ । लकडाउन पुनःव्यवस्थित गर्ने निर्णय भएको भन्दै एक मन्त्रीले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, व्यापारिक क्षेत्र खुकुलो गर्ने निर्णय भएको बताए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षाका मापदण्ड अपनाएर पसल खोल्न दिने निर्णय गरेको हो ।
यस्तै काठमाण्डौ उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर बिजोर प्रणाली लागू गरेर ट्याक्सी र मोटरसाइकललगायत निजी गाडी चलाइने भएको छ । विद्यालय, सिनेमा हललगायतका धेरै भिडभाड हुने स्थानहरु भने तत्काल खुल्ने छैनन् ।
मन्त्रिपरिषद् बैठकको विस्तृत जानकारी भोलि दिइने एक मन्त्रीले बताए ।सरकारले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । कोरोना सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई लम्ब्याउन उच्चस्तरीय समितिले सिफारिस गरे अनुसार सरकारले अन्तिम पटक जेठ ३२ गतेसम्म लकडाउनको समय थप गरेको छ ।