दुई खुट्टा गुमाएका केशवलाई ६ जनाको परिवारको खर्च चलाउनै मुस्किल


धनगढी : कंचनपुरको कृष्णपुर नगरपालिका ५ का ३९ बर्षिय केशव टमटालाई परिवार चलाउन मुस्किल भएको छ । भारतमा रोजगार गर्ने क्रममा कम्पनीमा आगलागी हुँदा दुई खुट्टा गुमाएका केशवलाई ६ जना रहेको परिवारको घरखर्च चलाउन मुस्किल परेको छ ।

२०६२ सालमा भारतमा रोजगार गर्न गएका केशव जागिर खोज्दै गर्दा एउटा कम्पनीमा जागिर त पाए तर जागिरमा लागेको १० औं दिनमा कम्पनीमा आगलागी भयो । आगलागीमा पर्दा उनका दुईटै खुट्टा गुमे । कम्पनीले उपचार गर्छ भने आशमा रहेका केशव कम्पनीले १५ दिन नपुगेकोलाई कुनै उपचार नगर्ने जानकारी दियो । ‘केही कमाउ भनेर भारत तिर गए । कम्पनीमा जागीर लागेको १० दिनमा कम्पनीमा आगलागि भयो ।’ उनले भने – ‘ कम्पनीबाट कुनै क्षतिपूर्ति पाएन, अरु सङ्ग हात जोडि जोडि केही पैसा संकलनबाट गाउँमा मोटर पन्का बनाउने पसल खोलेर ६ जनाको घरपरिवार कष्टकर जीवन धानिरहेको छु ।’

हिडडुल गर्न अशक्त रहेका केशवलाई पसलमा चाहिने रिपेरिङ्गका समान ल्याउन कठिन छ । हातमा सिप त छ तर आर्थिक स्थिती कमजोरले पसल ब्यबस्थापन गर्न सकिरहेको छैनन । सटरमा पसल राख्ने सोच भएपनि आर्थिक अवस्था कमजोरकै कारण खोलाको किनारमा खोपो राखेर परिवारको गुजारा चलाईरहेका छन् ।