सुदूरपश्चिम प्रदेशमा ६ हजार १०१ जनाले जिते कोरोना


कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा ६ हजार एक सय एक संक्रमितले कोरोना जितेका छन्। सोमबार थप ८२ जना कोरोना संक्रमण मुक्त भए सगै सो संख्या पुगेको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सोमवार अछामका ४५, डोटीका तीन, कैलालीका दुई र कञ्चनपुरका एक जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।
प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ८ सय ६८ जना निको भएर घर फर्किएका छन्। यस्तै अछामका नौँ सय ६९, डोटीका नौँ सय ५० र कञ्चनपुरका सात सय ४२ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ।
बाजुराका चार सय ५१ जना, बझाङका चार सय २२, बैतडीका तीन सय २९, डडेल्धुराका तीन सय २१ र दार्चुलाका ४९ जना संक्रमित पनि डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको संख्या सात हजार तीन सय नाघेको छ भने स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयका अनुसार सात हजार एक सय १८ पुगेको छ।
निर्देशनालय र सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशको प्रयोगशाला र प्रदेश बाहिरका विभिन्न प्रयोगशालामा कोरोना पुष्टि भएका झण्डै दुई यस जनालाई आफ्नो रिपोर्टमा उल्लेख गरेको छैन्। सुदूरपश्चिममा संक्रमित मृतकको संख्या २१ पुगेको छ।