किसानले सडकमै दुध पोखेर विरोध


पर्वत– किसानले उत्पादन भएको ७ सय २० लिटर दुध सडकमा पोखेर स्थानीय सरकारको विरोध गरेका छन् ।
लामो समयको लकडाउन, बाढी पहिरोका कारण सडक अवरोध हुँदा समेत फलेवास नगरपालिकाले किसानको प्रोत्साहनको लागि कुनै पहल नगरेको र सडक मर्मत नगर्दा उत्पादन भएको दुध सहकारीमै थन्किएको भन्दै कृषकले दुध सडकमा पोखेर विरोध गरेका हुन् ।
लगातारको बर्षासँगै आएको बाढिपहिरोबाट फलेवास नगरपालिका विभिन्न सडक अवरुद्ध छन् । बन्द भएका सडक सुचारु गर्न स्थानीय सरकारले वेवास्ता गरेका कारण नगरपालिकाको बिरोधमा सडकमा दुध पोखेको सहकारी संस्थाका अध्यक्ष रुद्रप्रसाद भुषालले बताए ।
२÷३ दिनमा उठाउनु पर्ने दुध नौ दिनसम्म पनि बजारमा पुर्याउन नसकेपछि दुध बिग्रिएर सडकमा पोख्न बाध्य भएको उनको भनाइ छ । संकलन गरेको दुध बिग्रिँदा ५० हजार भन्दा बढीको नोक्सान भएको अध्यक्ष भूषालले बताए ।
फलेवास देविस्थानका किसानहरुले दुई वर्षदेखि कृष्ण गण्डकी सहकारी संस्था मार्फत उत्पादन गरेको दुध पोखरासम्म पुर्याउँदै आएका छन् । दुग्ध सहकारी संस्थामा एक सय भन्दा बढी किसान आवद्ध छन् ।