अबको अर्थमन्त्री को ?

बोलन्या थली | २० भाद्र २०७७, शनिबार

काठमाडौ : अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएसँगै अब उनको ठाउँमा को आउला भन्नेमा सर्वत्र चासो छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका खतिवडाको दुईवर्षे कार्यकाल गत फागुनमै सकिएको थियो । संविधानतः सांसद नरहेको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने प्रावधानबमोजिम उनी हालसम्म मन्त्री पदमा रहेका थिए ।

राष्ट्र बैंकका पूर्वगर्भनरसमेत रहेका खतिवडालाई पुनः राष्ट्रियसभामा पठाएर अर्थ मन्त्रीमा दोहोर्‍याउने प्रधानमन्त्री ओलीको चाहना भए पनि बहुमत सचिवालय सदस्यहरु त्यसको विपक्षमा उभिएपछि ओलीको त्यो चाहना पूरा हुन नसकेको नेकपाकै स्थायी कमिटी सदस्यहरु बताउँछन् ।

राष्ट्रियसभामा सरकारबाट मनोनित हुनुपर्ने एक रिक्त पदका लागि नेकपा सचिवालयले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरिसकेको छ । सांसदको कार्यकाल सकिएको ६ महिनासम्म मात्र मन्त्री पदमा रहन पाउने संवैधानिक अड्चनका कारण मन्त्री खतिवडाले पदबाट राजीनामा दिइसकेका छन् ।

खतिवडाको राजीनामासँगै अब निक्कै महत्वपूर्ण मानिएको अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्न को र कस्तो व्यक्ति आउँछ, उ कुन नेता र गुटनिकट होला ? भन्नेमा नेकपाभित्र, बाहिर र जनस्तरमा पनि बहस सुरु भएको छ ।

अब क्याविनेटमा देखिने नयाँ अनुहारहरुमा पूर्वएमालेबाट सुरेन्द्र पाण्डे र भीम रावल आदिको नाम चर्चामा छ भने पूर्वमाओवादीबाट जनार्दन शर्मा, देवेन्द्र पौडेल, पम्फा भुसाल र हितबहादुर तामाङलगायतको नाम प्राथमिकतामा रहेको स्रोतको भनाइ छ ।

तर, यी नयाँ अनुहारमध्ये अर्थ अर्थमन्त्रालयको नेतृत्व पाउने सम्भावना कम रहेको स्रोतको दाबी छ ।

गत बुधबार साँझ प्रचण्डसँगको बैठकमा ओलीले अहिलेका लागि नेपालमा खतिवडाबाहेक अर्थमन्त्री बन्ने ‘क्षमता’को अर्को व्यक्ति नभएको टिप्पणी गरेको बताइएको छ ।

वामदेवलाई राष्ट्रियसभामा मन्त्रिपरिषदले सिफारिस गरेसँगै खतिवडालाई अर्थ मन्त्रालयमा दोहोर्‍याउने सम्भावना भने सकिएको छ । तसर्थ, खतिवडालाई मुख्य सल्लाहकारको रुपमा नियुक्त गरेर अर्थमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैले सम्हाल्ने सम्भावना प्रवल रहेको स्रोतको दाबी छ । नेपालिनेटवर्कबाट

जनाअवजको टिप्पणीहरू