डडेल्धुरामा निषेधाज्ञा १९ गतेसम्म लम्बियो, डोटीमा भोलीदेखि निषेधाज्ञा
धनगढी : डडेल्धुरामा निषेधाज्ञा भदौ १९ सम्म थपिएको छ । जिल्लास्तरीय कोभिड–१९ जोखिम व्यवस्थापन समितिको शुक्रबारको बैठकले निषेधाज्ञा भदौ १९ सम्म थप्ने निणय गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले शुक्रबार सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्लामा जारी निषेधाज्ञा लम्ब्याइएको बताए ।
जिल्लामा संचालित अतिआश्यक सेवा तथा वस्तु बिक्री वितरण गर्ने पसलबाहेक सम्पूर्ण पसल शुक्रबारदेखि १९ भदौसम्मका लागि बिहान ६ बजेदेखि ११ बजेसम्म मात्रै संचालन गर्न पाउने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताएका छन् । पलस संचालन गर्दा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने उनले बताए ।
बैंक तथा वित्तीय संस्था बिहान ८ बजेदेखि १२ बजेसम्म मात्रै संचालनमा रहने छन् । जिल्लामा संचालित निजी तथा सार्वजनिक सवारी साधन तथा मोटरसाइकललाई शुक्रबारदेखि नै जोर–बिजोर प्रणाली लागू गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।
यस्तै डोटीमा भोलि देखि २१ गतेसम्म निषेधाज्ञा हुने भएको छ । आइतबार राती १२ बजेबाट लागु हुने गरी निषेधाज्ञा लागु गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।
जिल्लाभित्र कोभिड-१९को संक्रमण बढ्दै गएपछि त्यसको शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।
निषेधाज्ञाका क्रममा अत्यावश्यकीय सेवा बाहेक अन्य सेवाहरु पूर्ण रुपमा बन्द हुने प्रमूख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए ।