सुदूरका भट्ट बन्दैछन् राष्ट्र बैंकको गभर्नर


धनगढी । नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर डा. गुणाकर भट्टलाई बनाउन सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति जुटेको हो। लामो र स्साकस्सीपछि सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति गरेका छन्।
को हुन् भट्ट ?
सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको शिखर नगरपालिका वडा नं.१ मा घर भएका डा. भट्ट राष्ट्र बैङ्कका कार्यकारी निर्देशक हुन्। उनी विगत २५ वर्ष देखि नेपाल राष्ट्र बैङ्कमा कार्यरत छन्
हाल आर्थिक अनुसन्धान विभागको प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ। यसअघि उनले बैङ्क नियमन विभाग, सुपरिवेक्षण विभाग, भुक्तानी प्रणाली विभाग र राष्ट्र ऋण व्यवस्थापन विभागको प्रमुख भएर काम गरी सकेका छन् । उनले लामो समय बैंकको प्रवक्ताको रूपमा समेत जिम्मेवारी समे सम्हालिसकेका छन् ।
डा. भट्टले अमेरिकाको विलियम्स कलेजबाट मास्टर्स र अमेरिकाको वयन स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि ९पिएचडी० उपाधि हासिल गरेका थिए । त्रिभुवन विश्व विद्यालयबाट मास्टर्समा स्वर्ण पदक जीतेका उनको अनुसन्धान क्षेत्र मौद्रिक अर्थशास्त्र, वित्तीय अर्थशास्त्र, र विकास अर्थशास्त्रमा केन्द्रित रहेको छ । उनले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धान लेखहरू प्रकाशित पनि गरेका छन्।
डा. भट्ट नेपाल राष्ट्र बैङ्कमा कार्यरत रहँदा विभिन्न नीतिगत निर्णयहरूमा संलग्न भएका छन्। उनले बैङ्किङ सुपरिवेक्षण, भुक्तानी प्रणाली सुधार, र मौद्रिक नीतिहरूको विकासमा योगदान दिएका छन् । डा.भट्टले नेपाल राष्ट्र बैंकको प्रवक्ताको रूपमा पनि काम गर्दा बैङ्कका नीतिहरू निर्णयहरूको बारेमा सार्वजनिक सञ्चारमा महत्त्वपूर्ण भूमिका निभाएका थिए । नेपालको मौद्रिक नीति, वित्तीय नियमन, र अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका उनी अहिलेसम्म कुनै विवादमा परेका छैनन् ।
उनी जटिल आर्थिक विषयहरू सरल भाषामा जनतासम्म पुर्याउने क्षमता राख्छन् । मुलुकको अर्थतन्त्र बुझेका भट्ट डिजिटल अर्थतन्त्र, मुद्रास्फीति नियन्त्रण, र बैंकिङ्ग सुधार जस्ता विषयका विज्ञ मानिन्छन् ।
आफ्नो कार्य र अनुसन्धानमा आधारित निष्पक्ष छवि भएका भट्टको सरकार, निजी क्षेत्र, र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सकारात्मक सम्बन्ध, आर्थिक स्थिरताका लागि दीर्घकालीन योजना बनाउने स्पष्ट दृष्टिकोण छ । डा. भट्ट यिनै कारण र क्षमताका कारण नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि सबैभन्दा योग्य उम्मेदवारका रुपमा हेरिएका छन् ।उनको नियुक्तिले नेपालको वित्तीय क्षेत्रमा सुधार, स्थिरता, र प्रगतिको नयाँ अध्याय लेखिने विश्वास गरिएको छ ।