प्रतिपक्षको अबरोधका बिच प्रदेश सभाको बैठक सञ्चालन
धनगढी । प्रतिपक्षी दलहरुको अवरोधकै बिच सुदूरपश्चिम प्रदेश सभाको बैठक संचालन भएको छ । आज बिहान ८ बजे तोकिएको प्रदेश सभा बैठक केही बेर ढिला सञ्चालन भएपनि बैठक शुरु हुनासाथ प्रतिपक्ष दल नेपाली काँग्रेस र जसपाले अबरोध गरेको थिए ।
प्रतिपक्षी दलहरुको अवरोधकै बिच सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको अगामी आर्थिक वर्षको बजेटमाथिको छलफल प्रस्ताव २० दिनपछि प्रदेशसभामा टेबुल भएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी दल राजपाले प्रदेशसभाको अवरोध सिर्जना गरेपनि सभामुखले बैठकको कारवाही अगाडी बढाएका हुन्।
सभामुख अर्जुनबहादुर थापाले अर्थमन्त्री झपटबहादुर बोहोरालाई आर्थिक वर्ष २०७७÷७८ को बजेटमाथि सभामा छलफल गरी पारित गरिपाउ भन्ने प्रस्ताव टेबुल गर्न अनुमती दिए। प्रतिपक्षी दलले सरकार विरुद्ध नाराबाजी गरिरहेकै बेला अर्थमन्त्री बोहोराले छलफल प्रस्ताव सभामा टेबुल गरेका थिए।
प्रस्ताव टेबुल भएपछि सभामुख थापाले प्रदेशसभाको अर्को बैठक असार २२ गते दिउँसो ३ बजेका लागि बोलाएका छन्।अब यो संगै प्रतिपक्षको अबरोधका बिच बजेट माथिको छलफल शुरु हुने भएको छ । प्रदेश सभाको बैठक बिहीवार पाँचौ पटक स्थगित गरिएको थियो ।