सुदूरपश्चिम प्रदेशसभाको अवरोध कायमै राख्ने प्रतिपक्षी दलको निर्णय


धनगढी,असार १६ । सुदूरपश्चिम प्रदेशका प्रतिपक्षी दलहरुले आफ्ना माग पुरा नभएसम्म प्रदेश सभाको बैठक सञ्चालन हुन नदिने बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र प्रतिपक्षी दल (राजपा) ले सोमबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी माग पुरा नभए आन्दोलन जारी राख्ने जनाएका हुन् ।
उनीहरुले संयुक्त रुपमा बजेटमा माग अनुसारको योजनाहरु नसमेटेसम्म बैठक अवरुद्ध जारी राख्ने निर्णय गरेका छन् ।नेपाली कांग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावलले कोरोना महामारीका बेला प्रदेश सरकारले कोरोनामैत्री बजेट नल्याएको भन्दौ कोरोना रोकथाम तथा नियन्त्रणका लागि योजना समेट्नु पर्ने बताए ।
उनले कोरोनाको असरका कारण समस्यामा परेका जनतालाई रोजगार दिने, व्यवसायीहरुलाई समेत राहत दिने खालका योजना राख्नुपर्ने बताए ।उनले सुदूरपश्चिममा फैलिदै गएकोले कोरोना भाईरस नियन्त्रणका लागि ठोस योजना नल्याउँदासम्म प्रदेश सभा बैठकको अबरोध जारी रहने बताए ।काँग्रेसकै समानुपातिक सांसद अम्बिकुमारी थापाले पार्टीभित्रैबाट आफूहरूलाई विभेदमा पार्ने काम भइरहेको बताइन् ।
सोमबारको पत्रकार सम्मेलनमा बोल्न खोज्दा दलको नेताले बोल्न नदिएको भन्दै उनले सरकार र पार्टी दुवैले आफूहरुलाई विभेद गरेको बताइन् । दुवै प्रतिपक्ष दलले प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको भोलिपल्ट देखिनै प्रदेशसभा बैठक अवरुद्ध पार्दै आएका छन् ।