कोरोना संक्रमितको मलामी गएकाहरुले आफैले गरे टोल सिल


धनगढी । धनगढी उपमहानगरपालिका– ४ महिमा टोलकी एक महिलामा मृत्युपछि कोरोना संक्रमणको पुष्टि भएपछि महिमा टोल सनिवार साँझदेखि सील गरिएको छ । मृत्युपछि कोरोना पुष्टि भएकी महिलाको मलामी गएका धनगढी उपमहानगरपालिका– ४ महिमा टोलवासीले आफै टोल सिल गरेका हुन् ।
प्रहरी नआएपछि चहलपहल पूर्ववत हुन थालेपछि मलाम गएका व्यक्तिहरुले नै धनगढी–अत्तरीया मूल सडकको बोराडाडी भएर महिमा टोल आउने बाटो र यातायात व्यवस्था कार्यालय भएर बोराडाडी मुल सडक जोड्ने शाखा रोड अन्तर्गत पर्ने तुलसी चौकमा बोर्ड नै राखेर आवागमनमा अवरुद्ध गरेका छन् ।
दुई दिन अघि सेती प्रादेशिक अस्पतालमा मृगौलाको डायोलिससका क्रममा महिमा टोलकी एक महिलाको मृत्यु भएको थियो । मलाममा गएका व्यक्तिहरुले जति सक्दो चाँडो थ्रोट स्वावको नमूना लिएर कोरोना परीक्षण गर्न आग्रह गरेका छन् ।
स्थानीय प्रशासनले भने मलामी गएकाहरुको पहिचान भईसकेको र स्वाव संकलनका लागि तयारी भईरहेको जनाएको छ ।