सुदूरपश्चिममा पाँच दिनका लागि थ्रोट स्वाव संकलन स्थगित


धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब संकलन स्थगन गरिएको छ। धनगढीको एक मात्रै प्रयोगशालामा क्षमताभन्दा बढी स्वाबका नमूना परीक्षणका लागि आउन थालेपछि पाँच दिनका लागि स्वाब संकलन कार्य स्थगन गरिएको हो।पिसीआर प्रयोगशालाको दैनिक परीक्षण गर्ने क्षमता २५० मात्रै छ। परीक्षणका लागि आएका स्वाबका एक हजार ८३ नमूना परीक्षण गर्न बाँकी छ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक गुणराज अवस्थीका अनुसार दैनिक स्वाब संकलन कार्य भइरहेको छ। यसरी नै स्वाब संकलन भइरहने हो भने परीक्षण गर्नुपर्ने स्वाब धेरै दिन थन्किन सक्ने र धेरै दिनसम्म परीक्षण नगरी स्वाब राखेमा बिग्रने पनि सम्भावना भएकाले पाँच दिनका लागि स्थगन गरिएको हो।प्रयोगशालमा परीक्षण गर्न बाँकी नमूना परीक्षणको कार्य सकिएपछि मात्रै स्वाब संकलन कार्य शुरु गरिने अवस्थीले बताए। -रासस