स्वतन्त्र सांसद जोशीलाई मन्त्री बन्न सुदूरका मुख्यमन्त्रीको आग्रह

बोलन्या थली | ६ चैत्र २०८०, मंगलवार
स्वतन्त्र सांसद जोशीलाई मन्त्री बन्न सुदूरका मुख्यमन्त्रीको आग्रह

धनगढी । केन्द्रमा नयाँ गठबन्धन बनेपछि त्यसको असर सुदूरपश्चिममा परेको छ । नेपाली काँग्रेसलाई बाहिर राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, रास्वपा,एकीकृत समाजवादी लगायतका दलहरूसँग मिलेर नयाँ गठबन्धन बनेपछि नेपाली काँग्रेसको नेतृत्वमा रहेको सुदूरपश्चिम सरकार अहिले अल्पमतमा परेको छ । 

नेपाली काँग्रेसबाट  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका कमलबहादुर शाहले अहिले प्रदेश सरकार जोगाउन निकै कसरतमा जुटेका छन् । तिनै कसरतमा जुठेका मुख्यमन्त्री शाहले स्वतन्त्र सांसद डा.तारा जोशीलाई मन्त्री बन्न आग्रह गरेका छन् ।

कैलालीको धनगढीमा सोमबार वेद उप्रेतीको ‘दुर्गम विस्मयलोक/भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले जोशीलाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।

‘मेरो आग्रह छ डा.तारा जोशी सरलाई, आउनुहोस् सँगै जाऔँ, एउटै क्याबिनेटमा आउनुहोस्’, मुख्यमन्त्री शाहले भने, ‘तपाईँको विद्वता हामीलाई चाहिएको छ, तपाईँको साथ हामीलाई चाहिएको छ । यस्ता यस्ता व्यक्तिको साथ र सहयोगमा हामी अगाडि बढ्न चाहन्छौँ ।’

मुख्यमन्त्रीले आफ्नो मन्तव्यकै क्रममा मन्त्री बन्न प्रस्ताव गरे पनि जोशीले अहिलेसम्म कुनै प्रतिक्रिया भने दिएका छैनन् ।

सुदूरपश्चिम प्रदेशमा ५२ जना सांसद छन् । यहाँ बहुमत पु¥याउन २७ सांसद आवश्यक पर्छ । काँग्रेसका १८, नाउपाका ७ र स्वतन्त्र तथा राप्रपा जुटाएर बहुमतसिद्ध गर्ने मुख्यमन्त्री शाहको योजना छ ।

नागरिक उन्मुक्तिका सातमध्ये पाँच जनालाई मन्त्री मनाइसकेका मुख्यमन्त्री शाहले राप्रपा र स्वतन्त्र सांसदलाई पनि मन्त्री प्रस्ताव गरेको चर्चा चलिरहेको थियो ।

जनाअवजको टिप्पणीहरू