परशुराम धाममा माघे सङ्क्रान्तिको अवसरमा आयोजना हुने मेलाको तयारी अन्तिम चरणमा
डडेल्धुरा । डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाको परिगाउँस्थित परशुराम धाममा माघे सङ्क्रान्तिको अवसरमा आयोजना हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । हरेका वर्ष माघे सङ्क्रान्तिको अवसरमा मेला लाग्दै आएको यस वर्ष पनि परशुराम धाममा मेला लाग्न लागेको हो ।
सो अवसरमा नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीले मेलामा सहभागिताको लागि देशभरका पालिकाका प्रमुख र उपप्रमुखलाई आह्वान गरेका छन् । यहाँको धार्मिक,सांस्कृतिक पक्षको प्रचार प्रसार तथा संरक्षण र विकासमा योगदान गरिदिनको लागि मेयर जोशीले महाकालीमा स्नानका लागि सबैमा नगरपालिकाको तर्फबाट आमन्त्रण गरेका हुन् ।
माघ महिनाको शुभारम्भमा मनाइने प्रमुख चार्डमध्ये मकर सङ्क्रान्ति पर्व परशुराम नगरपालिका वडा नम्बर ५ महाकाली नदीको किनारमा अवस्थित ऐतिहासिक स्थल परशुराम धाममा प्रत्येक वर्ष महास्थान, भजन कीर्तन लगायतका विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरि हर्षोल्लासका साथ मनाइन्छ ।
परशुराम धाममा रहेका चुन ढुङ्गा भगवान् परशुरामले तपस्या गरे पश्चात् होम गरे पछि बनेको भन्ने जनविश्वास रहँदै आएको छ ।
भगवान् परशुरामले तपस्या गरेकाले यो स्थानको नाम परशुराम धाम राखिन गएको पुराणमा उल्लेख गरिएको छ ।पुस मसान्तको साँझ यहाँ आएर रातभर आगो तापेर भक्तजनहरू जागाराम बस्ने गर्दछन् । त्यसो गर्नाले धर्म कमाइने आस्था छ ।
माघ १ गते बिहानैबाट महाकाली किनारमा नुहाउने भक्तजनहरूको भीड लाग्छ । माघे सङ्क्रान्तिको दिन गङ्गा स्नान गरेमा सम्पूर्ण पाप कट्टी हुने तथा पुण्य कमाइने विश्वास गरिन्छ । मेला हेर्न सुदूरपश्चिमका विभिन्न जिल्ला तथा, छिमेकी राष्ट्र भारतबाट समेत तिर्थालु तथा दर्शनार्थीहरु आउने गर्दछन् ।