सुदूरपश्चिममा कर्मचारीलाई स्थायी बनाउने विधेयकविरूद्ध परेको रिटको पेसी १३ गते
धनगढी । सुदूरपश्चिममा कर्मचारीलाई स्थायी बनाउने विधेयकविरुद्ध परेको रिटको पेसी पुस १३ गते तोकिएको छ। अघिल्लो सुदूरपश्चिम प्रदेश सभाले कार्यकाल सकिने बेला करारमा नियुक्त कर्मचारीहरूलाई स्वतः स्थायी गर्ने भनी ल्याएको विधेयकमाथि परेको रिटबारे बहस हुने गरी पुस १३ गते पेसी तोकिएको हो।
रिटमाथि पुस १३ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस हुने गरी पेसी तोकिएको हो। सुदूरपश्चिम प्रदेश सरकारको कानुन मन्त्रालयले सभामा टेबल गरी सदनबाट गत भदौ १६ गते पास भएर भदौ ३१ गते प्रमाणीकरण भएको ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक – २०७९’ विरुद्ध रिट परेको थियो।
उत्प्रेषण परमादेश सहित उक्त विवादास्पद ऐन प्रचलित कानुनको प्रतिकुल रहेको भन्दै खारेजीको माग गर्दै वीरभद्र जोशी र यादव जोशीले सर्वोच्च अदालतमा रिट हालेका थिए।
यसअघि दसैँ, तिहार र छठको बिदा, प्रधानन्यायाधीश विवाद लगायतका कारणले रिटमाथिको कारबाही अघि बढ्न सकेको थिएन। संवैधानिक इजलास पनि प्रत्येक हप्ता बस्ने भएपछि सो रिटमाथि बहस हुने भएको रिट दायरकर्ता यादव जोशीले जानकारी दिए।