देउवाविरुद्ध चुनाव लड्ने घोषणा गरेका ढकाल भन्छन्, ‘डडेल्धुरावासीको साथ राम्रो पाउनेछु’
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरेका सागर ढकालले डडेल्धुरावासीको साथ राम्रो पाउनेमा विश्वस्त रहेको बताएका छन् ।केहिदिन चुनावी भेटघाटपछि डडेल्धुराबाट धनगढी पुगेका ढकालले आज बोलन्या थलीको सेटमा बोल्दै उनले सोचेभन्दा राम्रो स्वागत र स्थानीय जस्तै आफूलाई सम्झिएको बताएका हुन् ।
पहिलो पटक डडेल्धुरा पुगेता पनि त्यहाँका स्थानीयको माया साथले आफूलाई थप हौसला मिलेको बताए । उनले कुनै पनि राजनीतिक दलले कुनै योजना बनाउँदा आधार सहित जनताको माझमा आएर कार्यान्वयन गर्नुपर्ने बताए ।
अहिले सम्म विकासका कुरामा धेरै गफ गरेता पनि अब गफ होइन कार्यान्वयन गर्नुपर्ने उनले बताए । आफूहरू पनि यिनै मुद्धाहरुलाई लिएर चुनावी मैदानमा होमिएको बताए । देशभरी ४० वर्ष मुनिका युवाहरू चुनावमा उठ्ने हो भने साँच्चिकै देश परिवर्तन गर्न सकिने समेत दाबी गरे ।
छोटो समयमा डडेल्धुराका पुरै गाउँ पुग्न नसकिएपनी प्रधानमन्त्री देउवाको गाउँ रुवा खोला, अमरगढी नगरपालिकाका आसपासका क्षेत्र, परशुराम नगरपालिका र आलितालका केही क्षेत्रका जनतालाई भेटेर आज उनी धनगढी पुगेका हुन् ।
पहिलो चरणमा धेरै ठाउँ जान नसकिएपनी अर्को चोटि घरघरमा पुगेर भेटघाट गर्ने उनले बताए । पाँच वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर चर्चामा आएका गुल्मीका सागर ढकाल पेशाले इन्जिनियर हुन्।
उनले बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन गरेर आएको छन्।सङ्घीय चुनावमा डडेल्धुराबाट लड्ने भन्दै डडेल्धुरामा चुनावको तयारीमा होमिएका छन् ।