फेरी एक पटक नवदुर्गाका जनताको सेवा गर्न अध्यक्षमा मेरो उम्मेदवारी : विष्ट


डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार कवीन्द्र विष्टले जनताको सेवा गर्न पाउँदा खुसी भएको बताएका छन् ।
वि.स. २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट नवदुर्गा गाउँपालिका डडेल्धुराको अध्यक्षमा विजयी भएका विष्टले यस पटक भने नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष पदमा मनोनयन दर्ता गरेका छन् ।
लामो समय सरकारी जागिरबाट विट मार्दै राजनीतिमा होमिएका विष्ट जनप्रतिनिधिमा आएपछि पार्टी र जनताको मन जित्न सफल भएका छन् ।
जनताले मत दिएपछि जनताकै सेवामा तत्पर रहेर काम गर्दै जाँदा जनतासँगको सम्बन्ध अझ प्रगाढ भएको विष्टले बताए । जनप्रतिनिधिले जनताको सेवा गर्नु प्रमुख दायित्व रहेको बताउँदै विष्टले भने, ‘जनताको सेवा गर्न पाउँदा खुसी भएको छु । म फेरी एक पटक नवदुर्गाका जनताको सेवा गर्ने र पालिकाको विकास गर्ने उद्देश्य लिएर अध्यक्ष पदमा मनोनयन गरेको हुँ।’
पहिलो कार्यकालमा वडा नं २ र ५ को खानेपानी समस्या हल गर्न पाउँदा खुसी भएको बताउँदै विष्टले पोखरा –बेलापुर सडकलाई कालोपत्रे सडकको काम अगाडी बढाउन सफल भएको बताए । जनता सामु लोकप्रिय रहेका कारण विष्टलाई नै पुनः नवदुर्गा गाउँपालिकाको अध्यक्षमा मनोनयन दर्ता गर्न लगाइएको नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य डा.तारा जोशीले बताए ।