भारत बन्यो बढी संक्रमीत हुने तेस्रो मुलुक


भारत विश्वका सबैभन्दा बढी संक्रमण हुने मुलुकहरुको सूचीमा रुसलाई पछि पार्दै तेस्रो नम्बरमा उक्लिएको छ । हालसम्म भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६ लाख ९० हजार ३९६ जना पुगेको छ । रुसमा आइतबार साँझसम्म संक्रमितको संख्या ६ लाख ८० हजार २८३ रहेको छ । विश्वमा सबैभन्दा बढी संक्रमण हुने मुलुकमा पहिलो नम्बरमा अमेरिका र दोस्रोमा ब्राजिल छन् ।
भारतमा १ जुनदेखि लकडाउनलाई खुकुलो पारिएसँगै संक्रमणमा तीव्र वृद्धि भइरहेको छ । भारतमा पछिल्लो एक दिनमा मात्र करिब पच्चीस हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । भारतमा हालसम्म १९ हजार २६८ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । संक्रमितहरुमध्ये ४ लाखभन्दा बढी उपचारपछि निको समेत भइसकेका छन् । एजेन्सि