कैलालीमा एक हजार खरका छाना विस्थापन गरिने
कैलाली । कैलालीमा करीब एक हजार खरका छाना विस्थापन गरिने भएका छन । जनता आवास कार्यक्रमअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा ९४९ घरका छाना फेरिने भएका हुन् ।
निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका चार स्थानीय तहका खरले छाएको घरको छाना फेर्न पहिलो चरणमा बजेट विनियोजन गरिएको हो ।
तीन वर्षभित्र देशभरका सबै खरका छाना विस्थापन गरिने केन्द्रीय सरकारको नीतिअनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा आगामी आर्थिक वर्षका लागि करीब हजार घर परेको प्रतिनिधिसभा सदस्य झपट रावलले जानकारी दिए ।
स्थानीय तहको सिफारिसमा आफ्नो पहलमा छनोटमा परेका प्रतिघरलाई रु ५० हजारका दरले रकम दिइएको सांसद रावलले जानकारी दिए। सोअनुसार आगामी आर्थिक वर्षमा लम्किचुहा नगरपालिकामा ३०२ तथा गाउँपालिका मोहन्याका ३३८, बर्दगोरियाका १५६ र जानकीका १५३ घरका खरका छाना विस्थापन हुने जनाईएको छ ।