भीम रावलको अबको बाटो : मातृभूमि जागरण अभियान सञ्चालन गर्ने


काठमाडौँ । एमालेबाट निष्कासित नेता भीम रावलले अब मातृभूमि जागरण अभियान सञ्चालन गर्ने भएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले मातृभूमि जागरण अभियान सञ्चालन गरेर देश र जनताको हकहित रक्षा गर्ने उल्लेख गरेका छन् ।
रावलले आफूलाई एमालेको केपी शर्मा ओली गुटले पार्टीबाट निष्कासन गरेको आरोप लगाए । ओली गुटले कारबाही गरेर पार्टीबाट निकाल्दै सदस्यता नै खोसेपछि आफू विकल्प खोज्न बाध्य भएको उनको भनाइ छ ।
‘मलाई एमालेले होइन, केपी ओली गुटले कारबाही गरेर पार्टीबाट निकाल्दै सदस्यता नै खोसिदियो,’ उनले भने, ‘सदस्यता नै खोसेपछि विकल्प खोज्न बाध्य भएँ ।’
नेता रावलले आफूमाथि पूर्वाग्रह राखेर कारबाही गरिएको पनि आरोप लगाए । चितवनमा सम्पन्न महाधिवेशनमा अध्यक्षमा केपी ओलीसँग प्रतिस्पर्धा गरेकाले आफूमाथि कारबाही भएको भन्दै रावलले ओलीले पनि किन झलनाथ खनाल र माधव नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा गरेको भन्दै प्रश्न गरे ।
रावलले आफू पार्टी निर्माणमा निरन्तर सक्रिय हुँदै आएको दाबी पनि गरे । उनले पछिल्लो समय दुरासय राखेर आफूमाथि पूर्वाग्रहपूर्ण व्यवहार ओलीले गरेको पनि बताए ।