डडेल्धुरा अस्पतालको पहिचान नबिगार्न प्रदेशसभा सदस्य जोशीको आग्रह
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशसभा सदस्य डा ताराप्रसाद जोशीले डडेल्धुरा अस्पतालको पहिचान नबिगार्न आग्रह गरेका छन् । शनिबार २०७९/०८० मा डडेल्धुरा अस्पतालबाट प्रवाह भएका सेवा र सम्पादित कार्यहरु विषयक बार्षीक समिक्षा कार्यक्रमको प्रमुख अथित्यबाट बोल्दै उनले जिल्लावासीले ठूलो संघर्ष गरेर स्थापना गरेको डडेल्धुरा अस्पतालको पहिचान नबिगार्न आग्रह गरेका हुन् । उनले स्थापना भएको अस्पतालले गुणस्तर र विश्वसनीयता कायम गर्नुपर्ने बताए।
‘जनतालाई जनशक्ति, उपकरण र संरचनासँग मतलब हुँदैन उनीहरुले खोज्ने भनेको सेवा हो’ उनले भने, ‘आम नागरिकले अस्पतालबाट राम्रो उपचारको अपेक्षा गरेका हुन्छ। सोही अनुसारको सेवासुविधा हामीले दिन सक्नुपर्छ।’
उनले अस्पतालको समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए। संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ। तर, अहिले अस्पतालमा छात्रवृत्ति करारबाट ३ जना मात्र विशेषज्ञ चिकित्सक रहेका छन्। ११औं तहका मेसुको पद रिक्त छ।
त्यस्तै, ‘विशिष्ट विशेषज्ञ’ भनिएको अस्पतालमा १८ जना मेडिकल अफिसरको दरबन्दी रहेकोमा हालसम्म ६ जना नेपाल सरकारको तर्फबाट, छात्रवृत्ति र करारबाट १६ जना करारमा कार्यरत छन्। यस्तै, ३४ स्टाफ नर्सको दरबन्दी रहेकोमा २९ जना सरकारको तर्फबाट, ६ जना अस्पताल विकास समितिको तर्फबाट र करारमा २६ जना र १ जना दैनिक ज्यालादारी गरी ६२ जना कार्यरत छन्। अन्य प्राविधिक स्वास्थ्यकर्मीको पनि अस्पतालमा अभाव रहेको छ। १०९ जनाको स्वीकृत दरबन्दी रहेको अस्पतालमा हाल ५२ जना मात्रै कार्यरत रहेको अस्पतालको तथ्यांकले देखाएको छ। अहिले अस्पतालमा ४७ पद रिक्त छन्।