परशुराम नगरपालिकाका विद्यालयमा राजनीतिक गतिविधिमाथि पूर्ण बन्देज

बोलन्या थली | ३० असार २०८०, शनिबार
परशुराम नगरपालिकाका विद्यालयमा राजनीतिक गतिविधिमाथि पूर्ण बन्देज

डडेल्धुरा । परशुराम नगरपालिकाले सरकारी तथा सामुदायिक विद्यालयहरुमा कुनै पनि प्रकारका राजनीतिक गतिविधि पूर्ण रुपमा बन्देज लगाउने भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम तथा बजेटमा सामुदायिक विद्यालयहरुमा राजनीतिक गतिविधि, बन्द, हड्ताल तथा शैक्षिक गतिविधिमा अवरोध गर्ने खालका क्रियाकलापहरु पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरिएको परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीले जनाए।

राजनीतिक दलका भ्रातृसंस्था गठन कार्यलाई पनि निषेध गरिएको छ । नगर प्रमुख जोशीले भने, ‘सार्वजनिक शिक्षालाई राजनीतिक प्रभावमुक्त, स्वच्छ, नियमित, गुणस्तरीय बनाउँदै विद्यालयलाई शान्ति क्षेत्रको अवधारणालाई मूर्तरुप दिइने छ ।’ साथै शिक्षक तथा विद्यालय कर्मचारीहरुले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाइने नीति कडाइका साथ अवलम्बन गरिने नगर प्रमुख जोशीले जनाए ।

राजनीतिक गतिविधिका कारण विद्यालयको शिक्षामा प्रभाव परेको भन्दै यस्ता निर्णय लिनु परेको उनको भनाइ छ । नगरसभाबाट भएका निर्णयहरु कार्यान्वयन गर्न सबै पक्षसँग छलफलसमेत भइसकेको नगरपालिकाले जनाएको छ ।

जनाअवजको टिप्पणीहरू