लगानी बोर्डले भारतको एनएचपीसीलाई दियो सेती-६ आयोजनाको अध्ययन अनुमतिपत्र

बोलन्या थली | ३ चैत्र २०७९, शुक्रबार
लगानी बोर्डले भारतको एनएचपीसीलाई दियो सेती-६ आयोजनाको अध्ययन अनुमतिपत्र

काठमाडौँ । लगानी बोर्डको कार्यालयले भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई ४५० मेगावाटको सेती नदी–६ जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र दिएको छ । बोर्डले डोटी र अछाम जिल्लामा निर्माण हुने आयोजनाको अनुमतिपत्र जारी गरेको हो ।

बिहीबार बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले एनएचपीसीका उपमहानिर्देशक अशोककुमार जोशीलाई अनुमतिपत्र हस्तान्तरण गरेका हुन् ।

बोर्डले ३ महिनाभित्र आयोजना अध्ययन गरी प्रारम्भिक प्रतिवेदन र २१ महिनाभित्र विस्तृत आयोजनाको प्रतिवेदन (डीपीआर) बुझाउनुपर्ने गरी अनुमति प्रदान गरेको हो । कम्पनीले सेती नदी–६ सँगै ७५० मेगावाटको पश्चिम सेती पनि अघि बढाएको छ । अहिले कम्पनीले पश्चिम सेतीको प्रारम्भिक प्रतिवेदन बुझाएर विस्तृत अध्ययनको काम गरिरहेको छ ।

२०७९ जेठ २३ मा बसेको लगानी बोर्डको ५१ औं बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट उत्पादन क्षमताको सेती नदी–६ आयोजनाको विकास तथा लगानीको खाका तयार पार्ने जिम्मा एनएचपीसी लिमिटेडलाई दिने निर्णय गरेको थियो । साउन २३ मा बसेको लगानी बोर्डको ५२ औं बैठकले सर्वेक्षण लाइसेन्स जारी गर्ने समझदारीपत्र अनुमोदन गरेको थियो ।

यी दुई आयोजना एउटै नदी ‘बेसिन’मा ५० किलोमिटर दूरीमा छन् । माथिल्लो तटीय आयोजनाका रूपमा पश्चिम सेती र तल्लो तटीय आयोजनाका रूपमा सेती नदी–६ सँगसँगै निर्माण भए कुल १२ सय मेगावाट क्षमता बराबरको विद्युत् उत्पादन हुनेछ । लगानी बोर्ड र एनएचपीसीबीच गत भदौ २ गते निर्माण सम्झौता भएको थियो । एनएचपीसीले दुवै आयोजनाबाट उत्पादित बिजुली बेच्न अर्को सरकारी पावर ट्रेड कर्पोरेसन इन्डिया लिमिटेड (पीटीसी) सँग विद्युत् खरिद बिक्रीका लागि सम्झौता गरिसकेको छ ।

जनाअवजको टिप्पणीहरू