डडेल्धुरा महोत्सव फागुन ४ गतेदेखि हुने

बोलन्या थली | ६ माघ २०७९, शुक्रबार
डडेल्धुरा महोत्सव फागुन ४ गतेदेखि हुने

डडेल्धुरा । ‘सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं पाँचौं डडेल्धुरा महोत्सव–२०७९’ आयोजना गरिने भएको छ। डडेल्धुरा उद्योग वाणिज्य संघ, डडेल्धुराको आयोजना तीन वर्षपछि यहाँ महोत्सव आयोजना गर्न लागिएको हो।

‘कृषि, पर्यटन, उद्योग र व्यापार, समृद्ध डडेल्धुराको आधार’ भन्ने मुल नारासहित फागुन ४ गतेदेखि १४ गतेसम्म जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–४ टुँडिखेलमा आयोजना हुने भएको हो। डडेल्धुरा महोत्सव कोरोना महामारीका कारण रोकिएकोमा यस वर्ष पाँचौं संस्करणको आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रर्र्वद्धन तथा यहाँका कला संस्कृतिको जर्गेना गर्न उद्देश्य महोत्सव आयोजना गर्न लागिएको संघका कार्यबहाक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष दीपकबहादुर महताले जानकारी दिए।

उनले पश्चिम सेती जल विद्युत् परियोजनालगायत यस क्षेत्रका कृषि, पर्यटन, जडीबुटीलगायतका जैविक विविधतालाई उजागर गरी लगानी प्रर्वद्धन गर्ने, यहाँ कृषिबाट उत्पादित वस्तुहरूको प्रर्दशनी तथा बजारीकरणको व्यवस्था मिलाउने, धार्मिक तथा सांस्कृतिक क्षेत्रहरूको प्राचिनता र महत्वको प्रचारप्रसार गरी धार्मिक पर्यटनको विकास गर्न उद्देश्य पनि महोत्सवको रहेको बताए।

२०६५ सालमा पहिलोपटक महोत्सव गरेको उद्योग वाणिज्य संघले यस क्षेत्रको व्यवसाय, पर्यटनलाई टेवा पुर्‍याउने र विकासका सम्भावना पहिचान गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको वरिष्ठ उपाध्यक्ष महताले बताए।

महोत्सवका आकर्षणहरूमा स्थानीय लोपउन्मुख कला, संस्कृति भेषभूषा, खेलकुद एवं पुरातात्विक क्षेत्रको प्रर्दशनी, स्थानीय तथा राष्ट्रिय कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रमसहित मनोरञ्जन, स्थानीय लधु, घरेलु,उद्योग एवं उद्यमीहरूद्वारा उत्पादित वस्तुहरूको प्रदर्शनी तथा बिक्री रहने आयोजकले जनाएको छ।

महत्सवमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताकोसमेत आयोजना गरिने भएको छ। यसका साथै विद्यालय स्तरीय लोक सांस्कृतिक नृत्य प्रतियोगिताको आयोजना गरिने वरिष्ठ उपाध्यक्ष महताले जानकारी दिए। उनका अनुसार महोत्सवमा १५१ स्टल रहने छन्।

महोत्सवमा सर्वसाधारणका लागि ७५ विद्यार्थीका लागि ५० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। विद्यालय तथा क्याम्पसका विद्यार्थी विद्यालयको पत्रसहित टोलीमा आए १० प्रतिशत छुटको पनि व्यवस्था गरिएको छ।

‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएकालाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेश तथा ७५ वर्षभन्दा माथिका उमेरका वृद्धवृद्धालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाइएको छ। महोत्सव बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिनेछ। एक लाख ५० हजार मान्छेले महोत्वसको अवलोकन गर्ने आयोजकको अनुमान छ।

महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्नका लागि संघले विभिन्न ११ वटा समिति बनाएको छ। महोत्सव मुल आयोजक समिति डडेल्धुरा उद्योग वाणिज्य संघको कार्यकारणी समिति हुनेछ। १५१ सदस्यीय महोत्सव सल्लाहकार समिति बनाइएको छ। उद्योग वाणिज्य संघले महोत्सव सम्पन्न गर्न ७२ लाख रुयैयाँ खर्च हने अनुमान गरेको छ। डडेल्धुरा उद्योग वाणिज्य संघले यसअघि विं.स. २०६५, २०७२, २०७३ र २०७६ सालमा महोत्सव आयोजना गरेको थियो।

जनाअवजको टिप्पणीहरू