सांसद जोशीको पहलमा डडेल्धुरामा निःशुल्क स्वास्थ्य शिविर

बोलन्या थली | २३ पुष २०७९, शनिबार
सांसद जोशीको पहलमा डडेल्धुरामा निःशुल्क स्वास्थ्य शिविर

डडेल्धुरा । डडेल्धुरा प्रदेश ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद डा. तारा जोशीको पहलमा डडेल्धुरामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शनिबार जोशीको पहलमा जिल्लाको नवदुर्गा गाउँपालिका–४ र अजयमेरु गाउँपालिका–२ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो।

अजयमेरुमा कैलाली अस्पताल र नवदुर्गामा माया मेट्रो अस्पतालका साथै डा. तारा जोशी सचिवालयको आयोजनामा दुई वटै पालिकाकाको वडाहरूको सहकार्यमा शिविरको आयोजना गरिएको थियो।अजयमेरुमा ३ सय १ र नवदुर्गा गाउँपालिकामा ५ सय ४१ जनाले सेवा लिएको जोशीको सचिवालयले जनाएको छ।

सांसद जोशीको पहलमा आयोजना भएको शिविरबाट दुरदराजका नागरिकले आफ्नै गाउँ ठाउँमा सेवा पाएको अजयमेरु गाउँपालिका–२ का स्थानीय रमेश शाहले बताए।सांसद बनेर जोशीले चालेको कदमको उनले प्रशंसा समेत गरे।

गरिवीका कारण डडेल्धुरा अस्पतालसम्म पुग्न नसक्ने नागरिकलाई निःशुल्क शिविरले सहयोग पुगेको नवदुर्गा गाउँपालिका–४ की स्थानीय इश्वरी अवस्थीले बताइन्।

अजयमेरु गाउँपालिका–२ का वडाअध्यक्ष शिवराज भट्टले निःशुल्क स्वास्थ्य शिविरले गरिव नागरिकलाई सहयोग पुगेको बताए।उनले शिविरबाट जटिल किसिमका बिरामीलाई रेफर गरेर धनगढी लैजादा उनीहरूको उपचार खर्च पालिकाले व्यहोर्ने जिकिर गरे।

नवदुर्गा गाउँपालिका–४ का वडाअध्यक्ष पदम बिष्टले सांसद जोशीले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न पहल गरेकोमा धन्यवाद दिए।सांसद जोशीले निःशुल्क स्वास्थ्य शिविरले यहाँका नागरिकको स्वास्थ्यमा टेवा पुग्ने जिकिर गरे।

उनले आगामी दिनमा पनि यस्तै कार्यक्रमको लागी पहल गर्ने बताए। शिविरमा बरिष्ठ प्रसुति तथा स्त्रीरोग, बिशिष्ट नाक, कान, घाँटी रोग, फिजिसियन र जनरल मेडिसियन लगाएतको उपस्थिति रहेको थियो।

जनाअवजको टिप्पणीहरू