कर्मचारीलाई स्थायी बनाउने विधेयकविरुद्धको मुद्दामा सर्वोच्चले दियो कारण देखाऊ आदेश
धनगढी । सुदूरपश्चिममा कर्मचारीलाई स्थायी बनाउने विधेयकविरुद्ध परेको मुद्धामा सर्वोच्च अदालतले संवैधानिक इजलासको कारण देखाऊ आदेश दिएको छ ।
अघिल्लो सुदूरपश्चिम प्रदेश सभाले कार्यकाल सकिने बेला करारमा नियुक्त कर्मचारीहरूलाई स्वतः स्थायी गर्ने भनी ल्याएको विधेयकमाथि परेको रिटबारे बहस हुने गरी आजलाई पेसी तोकिएको थियो।
अदालतले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सुदूरपश्चिम प्रदेशको नाममा यस्तो आदेश दिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारको कानुन मन्त्रालयले सभामा टेबल गरी सदनबाट गत भदौ १६ गते पास भएर भदौ ३१ गते प्रमाणीकरण भएको ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक – २०७९’ विरुद्ध रिट परेको थियो। उत्प्रेषण परमादेश सहित उक्त विवादास्पद ऐन प्रचलित कानुनको प्रतिकुल रहेको भन्दै खारेजीको माग गर्दै वीरभद्र जोशी र यादव जोशीले सर्वोच्च अदालतमा रिट हालेका थिए।
यसअघि दसैँ, तिहार र छठको बिदा, प्रधानन्यायाधीश विवाद लगायतका कारणले रिटमाथिको कारबाही अघि बढ्न सकेको थिएन।