समाजवादीले गुमाएका दुई तारा

बोलन्या थली | २८ मंसिर २०७९, बुधबार
समाजवादीले गुमाएका दुई तारा

धनगढी । तारा लामा तामाङ र डा. तारा जोशीबिच धेरै समानता छन् । दुवै जना एमालेका पूर्व अध्यक्ष हुन् । र, जनता माझ बिझेका लोकप्रिय नेता हुन् । र, अर्को समानता छ, उनीहरू एमाले विभाजनपछि एकीकृत समाजवादीमा लागे । र, चुनावको मुखमा दुवै जनाले समाजवादी छोडे । यो उनीहरूबिचको अर्को समानता हो ।

उनीहरूबिच थप अर्को समानता छ, दुवै जना एमालेबाट पेलेर भित्तामा पु¥याइए । त्यही कारण समाजवादीमा गए । र, त्यहाँ पनि पेलिएपछि दुईटैले समाजवादी छोडे । एमालेमा लामालाई सुरेन्द्र विष्ट, निरु पालहरुले पेले । समाजवादीबाट उनी सरकारमा आर्थिक मामिला मन्त्री थिए । उनी हठात हटाइए । उनलाई हटाउने नेता थिए, दीर्घ सोडारी र गरिमा शाह । उनी त्यही दिनदेखि सोडारी र साहसँग क्रुद्ध थिए । उनी समाजवादीमा बसिरहने मुडमा थिएनन् । तर, पुरानो घर फिर्ता हुने अनुकूल अवसर जुरेको थिएन । 

बौद्धिक नेताका रूपमा चिनिने डा. तारा जोशी पनि धनवाद हाबी भएको समाजवादीमा भूमिका विहीन बनार्ईए । पछिल्लो निर्वाचनमा उनीहरूले डेरा छोडे । र, दुवै जना चुनाव लडे । 

एक तारा लाल्टिन चुनाव चिन्ह लिएर डडेल्धुरामा प्रदेश सभामा लडे । त्यो पनि स्वतन्त्र हैसियतमा । अर्को तारा कञ्चनपुर क्षेत्र नम्बर १ मा एमालेका तर्फबाट सूर्य चुनाव चिन्ह लिएर प्रतिनिधि सभामा लडे । डडेल्धुरामा प्रदेश सभामा डा.तारा जोशी निर्वाचित भए । स्वतन्त्र उम्मेदवारका रूपमा सुदूरपश्चिममा जित्ने उनी एक मात्र सांसद बन्न पुगे ।

तारा लामा तामाङले भने कैलाली र कञ्चनपुरका ८ वटा निर्वाचन क्षेत्रमा एमालेलाई क्लिन स्वीप हुन बाट जोगाए ।एमाले कञ्चनपुर र सुदूर पश्चिम प्रदेश समितिले समेत नपत्याएका लामाले तराईमा निल हुनबाट एमालेलाई जोगाए ।

लामालाई नेकपा एमालेका सुदूर पश्चिम इन्चार्ज लेखराज भट्ट समेत उम्मेदवार बनाउन चाहन्थेनन ।  भट्टको रोजाइमा वीर बहादुर थापा थिए । तर केन्द्रले लामालाई पत्यायो । र, टिकट दियो । जसको सुरुवाती चरणमा थापाले समेत चर्को विरोध गरे । एमालेले लामालाई सङ्घको टिकट दिँदा थापालाई प्रदेशको टिकट दिएको थियो । जबकि थापा सङ्घको टिकट पाउनेमा ढुक्क थिए ।

पूर्व माओवादी नेता थापालाई पछि भट्टले नै थापालाई सम्झाए । बुझाए । किनकि नेकपा एकीकरण हुँदा भट्टसँगै थापा पनि थिए । नेकपा बिघट्न हुँदा माओवादी केन्द्रमा नफर्किएर भट्टलाई साथ दिने सीमित माओवादी नेताहरुमध्ये थापा पनि एक थिए । सुदूरपश्चिममा एमालेले आफ्नो साख कहीँ जोगाउन सक्यो त, लामा र थापाको त्यही निर्वाचन क्षेत्रमा । सङ्घमा लामा जित्दा प्रदेशमा थापाले पनि जित हात पारे ।

उता सुदूरपश्चिममा समाजवादीले दुई वटा तारा गुमाउँदा एउटा तारा सूर्यले पायो । अर्को तारा लाल्टिनबाट स्वतन्त्रमा उदाए ।

जनाअवजको टिप्पणीहरू