डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार जोशी विजयी

बोलन्या थली | ८ मंसिर २०७९, बिहीबार
डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार जोशी विजयी


डडेल्धुरा । डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार तारा जोशी विजयी भएका छन्। जोशीले नेपाली काँग्रेसका गोबिन्द बाहेरालाई ४८० मतले पराजित गरेका हुन् ।

अन्तिम मत परिणाम अनुसार  जोशीले  ११ हजार १ सय ७० मत ल्याएका हुन भने नेपाली काँग्रेसका उम्मेदवार बोहराले १० हजार  ६ सय ९० मत पाएका ल्याएका हुन् ।  


को हुन जोशी

२७ चैत २०२७ मा गन्यापधुरा गाउँपालिकाको बामनगाउँमा जन्मिएका डा। तारा जोशीले भुवनेश्वरी माध्यमिक विद्यालयबाट २०४३ सालमा एसएलसी गरेका थिए । उनले कैलाली बहुमुखी क्याम्पसबाट आईकम गरेका छन् । सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरबाट बीए पास गरेका उनले एमए भने भारतको कुमाउ विश्वविद्यालय नैनीतालबाट गरेका हुन् ।

भारतको प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा उनले पीएचडी गरेका छन् । जोशीको राजनीतिक यात्रा २०४५ सालमा कैलाली बहुमुखी क्याम्पसको अनेरास्ववियु प्रवेशसँगै भएको थियो ।

जोशीले २०४७ सालमा आफ्नै गाउँको गणेश मावि बडालमा शिक्षकको रूपमा काम गरे । २०५१ देखि २०५३ सम्म डडेल्धुरा काठमाडौं सम्पर्क मञ्चको सदस्यहुँदै काठमाडौं केन्द्रित राजनीति गरे । २०५३ सालमा डडेल्धुरा आउँदै गर्दा नेकपा एमालेले उनलाई जिल्ला कमिटी सदस्यमा जिम्मेवारी दियो ।

२०६३ को आन्दोलनका क्रममा उनी दुईपटक गरी ५१ दिन थुनामा समेत रहे । उनी २०६९ मा नेकपा एमाले डडेल्धुराको जिल्ला अध्यक्षमा सर्वसम्मत चुनिए । २०७० सालको संविधानसभा चुनावमा होमिएका उनी पराजित भए । २०७१ मा पुनः एमाले जिल्ला अध्यक्षमा निर्वाचित भए ।
‘भिजन डडेल्धुरा’ का अभियन्ता जोशी फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेड नामको कम्पनीका संस्थापक अध्यक्षसमेत हुन् । फार वेस्टर्न एग्रो जाइन्टले डडेल्धुरामा भटमास प्रशोधन उद्योग सञ्चालनमा छ । नेकपा एमाले विभाजन हुँदा उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतर्फ लागे । उनै जोशी यसपटक लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार गोविन्द बोहरासँग चुनाव लडेका हुन् ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका जोशी आसन्न निर्वाचनमा डडेल्धुरा प्रदेश २ बाट सत्ता गठबन्धनको उम्मेदवारको दौडमा थिए । तर, प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीको भागमा एउटा पनि निर्वाचन क्षेत्र परेन । गठबन्धनको सहमतिअनुसार प्रतिनिधिसभा र डडेल्धुरा प्रदेश २ कांग्रेसको भागमा र्पयो भने डडेल्धुरा प्रदेश १ नेकपा माओवादी केन्द्रको भागमा । टिकट नपाएपछि जोशीले नेकपा एसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

जनाअवजको टिप्पणीहरू