डडेलधुरामा १३ हजार भोट ल्याउनु चानचुने कुरा होइन : सागर ढकाल

बोलन्या थली | ७ मंसिर २०७९, बुधबार
डडेलधुरामा १३ हजार भोट ल्याउनु चानचुने कुरा होइन : सागर ढकाल

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका स्वतन्त्र उम्मेदवार सागर ढकालले यस पटकको चुनावले धेरै कुरा सिकाएको बताएका छन् । उनले हारजित सामान्य अंकगणित मात्र भएको बताएका छन् ।

उनले भनेका छन्, ‘हारजित भनेको सामान्य अंकगणित मात्र हो । यो चुनावले अर्को चुनाव कसरी लड्ने भन्ने कुरा सिकाएको छ ।’

त्यस्तै ढकालले कांग्रेस र बीपी कांग्रेस दुवैले आफूलाई बाहिरको मान्छे भन्ने गरेको उनको भनाइ छ । ‘कांग्रेस र बीपी कांग्रेस दुवैतर्फका साथीहरूको चेपुवामा परेँ । उहाँहरूले मलाई गुल्मी किन गइनस् भनेर सोधिराख्नुभयो,’ उनले भने । उनी अगाडि भन्छन्, ‘डडेलधुरामा पहिलो पटक ४ महिना अगाडि पाइला टेकेर यहाँसम्म पुगे त्यसको लागि सबै डडेलधुरावासीलाई धेरै-धेरै धन्यवाद दिन चाहन्छु।’

आफूले प्राप्त गरेको मत चानचुने नभएको पनि उनको भनाइ छ । उनले यस पटक चुनावमा युवाहरूको जित भएको उल्लेख गर्दै भनेका छन्, ‘डडेलधुरामा १३ हजार भोट ल्याउनु चानचुने कुरा हैन। मैले रविको, सोबिताको, तोसिमाको जितलाई मेरो जितका रूपमा लिएको छु । युवाहरू अब सबै ठाउँबाट उठ्नुपर्छ ।’

डडेलधुरामा बुधबार बिहान सम्पन्न मतगणनामा प्रधानमन्त्री देउवा २५ हजार ५३४ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार सागर ढकाललाई १२ हजार ४९२ मतान्तरले पराजित गरेका हुन् । पराजित सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन् ।

जनाअवजको टिप्पणीहरू