प्रधानमन्त्रीलाई बोलन्या थलीले बुझायो दश हजार हस्ताक्षर सहित ज्ञापनपत्र
डडेलधुरा । बोलन्या थलीको डडेल्धुरा युनिटले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ। डडेल्धुरा युनिटले तीन बुँदे माग राख्दै सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाएको हो।
डडेलधुरामा एर्पोट निमार्ण, जिल्ला सदरमुकाम सडक विस्तार , महाभारत केवलकार निमार्णको सम्भाव्यता अध्ययनको माग सहित थलीले डडेल्धुरा प्रशासनमार्फत १० हजार हस्ताक्षर सहित ज्ञापनपत्र बुझाएको थलीका जिल्ला संयोजक दीपक भट्टले बताए ।
‘समग्र सुदूरपश्चिम भरी सदियौँ देखी जरो गाडेर बसेका अभाव, गरिबी, अशिक्षा, बेरोजगारी, जातीय विभेद, लैङ्गिक हिंसा जस्ता अनेकै रुढीग्रस्त समस्याहरूको दीर्घकालीन समाधानको लागि राज्यको नेतृत्व सँग आग्रह अनुरोध गर्दै र सुदूरपश्चिमका जनता लाई विकासको मूल प्रवाह सँग जोड्ने पश्चिम सेती जलविद्युत निमार्णका लागि बोलन्या थलीले निरन्तर खबरदारी गरेको कुरा जगजाहेर नै छ, जिल्ला संयोजक भट्टद्वारा जारी ज्ञापन पत्रमा भनिएको छ, ‘यस पटक डडेल्धुराका आम मतदाताका आर्थिक समृद्धि सँग जोडिएका मुद्दाका लागि सम्माननीय ज्यू समक्ष १० हजार डडेल्धुरी जनताका हस्ताक्षर सहित यो ज्ञापन पत्र पेस गरेका छौँ ।’ डडेल्धुरा प्रधानमन्त्री देउवाको गृह जिल्लासमेत हो।