मझगाउँ विमानस्थलको जग्गा फिर्ताको माग


धनगढी । कञ्चनपुर क्षेत्र नम्बर ३ का संघीय सांसद डा. दीपकप्रकाश भट्टले मझगाउँ विमानस्थलको जग्गा फिर्ताको माग गरेका छन् ।
नेपाली सेनाले मझगाउँ विमानस्थलको जग्गालाई आफ्नो नाममा सुटुक्क लालपुर्जा बनाएर भोगचलन गर्दा विमानस्थल बिस्तारमा समस्या भएको भन्दै सांसद भट्टले सो माग गरेका हुन् ।
प्रतिनिधि सभा बैठकको शून्य बैठकमा बोल्दै उनले भीमदत्त नगरपालिका-१६ अन्तर्गत रहेको विमानस्थलको जग्गा सेनाले सुटुक्क आफ्नो नाममा हालेको भन्दै आपत्ती व्यक्त गरे । सेनाले संकटकालको समयदेखि यो जग्गा उपभोग गर्दै आएको छ २०७५ सालमा आएर जग्गाको लालपुर्जा आफ्नो नाममा बनाएको खुलेको छ ।
अहिले मझगाउँ विमानस्थल बिस्तारको काम चलिरहेको छ । चुनावका बेला मतदाता समक्ष भोट माग्दा डा. भट्टले विमानस्थल पुर्नसञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।