धनगढीको मेयरमा गोपाल हमाल विजयी

बोलन्या थली | ८ जेष्ठ २०७९, आईतवार
धनगढीको मेयरमा गोपाल हमाल  विजयी

धनगढी : धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र पदका उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । 

आइतबार सम्पन्न मतगणना अनुसार हमालले २६ हजार ८६५ मत पाउँदै उपमहानगरको प्रमुखमा विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले जनाएको हो । हमालका प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका नृपबहादुर वडले १४ हजार ८१७ मत प्राप्त गरे । 

यस्तै, नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याए । यता उपमेयरमा एमालेकी कन्दकला राना विजयी भएकी छिन् । सुरुवाती चरणबाट माओवादी केन्द्रकी शान्ति अधिकारीलाई पन्छाइरहेकी रानाले अन्ततः अधिकारीलाई पछि पार्दै उपप्रमुखमा विजयी भएकी हुन् ।

उनले १५ हजार ४७९ मत पाउँदा माओवादी केन्द्रकी अधिकारीले १२ हजार ६७० मत पाइन्। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत पाए ।गत वैशाख ३० गते शुक्रवार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ६४७ जनाले मतदान गरेका थिए। उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो। 

जनाअवजको टिप्पणीहरू