डडेल्धुराको चुनावीसभामा देउवा दाइको हिसाबकिताब राख्ने रहर छ : कर्ण मल्ल
डडेल्धुरा ; नेपाली कांग्रेसको कारबाहीमा परेका नेता कर्णबहादुर मल्लले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको डडेल्धुरामा हुने चुनावी आमसभामा बोल्न रहर व्यक्त गरेका छन् ।
उनले आफूले सो चुनावी आमसभामा १० मिनेट मात्र बोल्ने र पार्टीमा गरेका हिसाबकिताब राख्ने रहर भएको बताएका हुन् । ‘हिम्मत छ भने मलाई २७ गते हुने देउवा दाइको आमसभामा १० मिनेट बोल्न दिनु, देउवा दाइको अगाडि कांग्रेस विद्रोही हरि भट्टका तर्फबाट म आफ्ना कुरा राख्ने छु’ उनले भने, ‘२०६७ साल अगाडि के गर्नुभयो । र, २०६७ सालपछि म डडेल्धुराको नेतृत्वमा आएपछि के के काम गरे सबै भन्नेछु ।’
यस्तै, देउवाले आफूमाथि कुनै लगानी नगरेको उनले बताए । मल्लले पार्टीको निर्णय विपरीत डडेल्धुरामा एमालेसँग तालमेल गरी स्थानीय तहको निर्वाचनको मैदानमा छन् । सत्ता गठबन्धनको निर्णयविपरीतको काम गरेको भन्दै मल्ललाई कांग्रेसले कारबाही गरेको थियो ।