स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्ने बाटो खुल्यो

बोलन्या थली | ३० चैत्र २०७८, बुधबार
स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्ने बाटो खुल्यो

काठमाडौँ । आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गरिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना २०७८ जारी गरेपछि सेना परिचालन गर्ने बाटो खुलेको हो । उक्त योजनामा सेना परिचालन गर्ने व्यवस्था छ ।

निर्वाचनमा सुरक्षा निकायलाई एकीकृत तथा  समन्वयात्मक  बनाउन  नेपाली  सेना  परिचालन  गर्नुपर्ने सिफारिस राष्ट्रिय सुरक्षा परिषद्ले चैत १७ गते मन्त्रिपरिषद्मा गरेको थियो ।

मन्त्रिपरिषद्ले चैत २४ गते त्यस्तो निर्णय गरेको थियो । योजना स्वीकृतिका लागि चैत २४ गते नै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

स्थानीय  तहको  निर्वाचन  स्वतन्त्र,  निष्पक्ष  र  भयरहित  वातावरणमा  सम्पन्न  गर्न  स्थानीय  तह  निर्वाचन  एकीकृत  सुरक्षा  योजना  जारी  गरिएको  राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । 

जनाअवजको टिप्पणीहरू