प्रधानमन्त्रीलाई सुदूरबासीका एक लाख पत्र बुझाउन बोलन्या थली माइतीघर मण्डलामा


धनगढी : पश्चिम सेती जलविद्युत निर्माणको लागि दबाब दिँदै आएको बोलन्या थली सोमबार काठमाडौँ पुगेको छ । सुदूरबासीका एक लाख चिठ्ठी र २२ डोका सहित थली आज काठमाडौँ पुगेको हो ।

केही दिन पहिले सङ्कलन गरिएका एक लाख पत्र प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाउन काठमाडौँ पुगेको थलीका संयोजक यादव जोशीले बताए ।
‘विगत केही महिना अघि हामीले पश्चिम सेती निर्माणका लागि दबाब दिन प्रधानमन्त्री ज्यूलाई सुदूरपश्चिमबाट आशा र सपनाका एक लाख वटा चिठ्ठी बुझाउने कार्यक्रमको शुभारम्भ गरेका थियौँ,’ संयोजक जोशीले भने, ‘ प्रदेशका ८८ वटै स्थानीय तहबाट जनताका सपनाका पत्र सङ्कलन गरेर हामी आज काठमाडौँ पुगेका छौँ । तीन दिन माइतीघर मण्डलामा हाम्रा सपनामाथिका घात राजधानी सुन्ने गरी कराएर प्रधानमन्त्रीलाई डोकामा एक लाख पत्र बुझाउने कार्यक्रम छ ।’
सेती आयोजना निर्माणका लागि दबाब दिन यसलगत्तै ७५० डोकासहित डोटीमा प्रदर्शन र ७५० मैनबत्ती बालेर दिउँसै सरकार खोजी गरिसकेको छ । यस्तै काठमाडौँकै माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल कार्यक्रम गरिसकेको छ।