स्थानीय तहको निर्वाचनमा कुन उम्मेदवारले कतिसम्म खर्च गर्न पाउने ?
![](https://bolanyathali.com/wp-content/themes/bolanya/img/bolanya-face-sm.png)
![स्थानीय तहको निर्वाचनमा कुन उम्मेदवारले कतिसम्म खर्च गर्न पाउने ?](https://bolanyathali.com/wp-content/uploads/2022/03/elecatation-office2022-03-11-08-43-08-1024x512.jpeg)
काठमाडौँ : निर्वाचन आयोगले अघिल्लो स्थानीय तहको चुनावमा तोकिएको उम्मेदवार खर्च सीमालाई नै आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि पनि निरन्तरता दिएको छ ।
आज शुक्रवार राजनीतिक दलका प्रतिनिधिहरूसँग गरेको छलफलमा आयोगले उम्मेदवारहरूको खर्च सीमाबारे जानकारी दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए
उनले केही दलले समयअनुसार खर्च सीमा बढाउनुपर्ने बताएका भए पनि धेरैजसोले खर्च सीमामा सहमति जनाएका बताए ।निर्वाचन आयोगले तोकेको खर्च सीमाअनुसार महानगरपालिकाको मेयर र उपमेयर पदका उमेदवारले बढीमा सात लाख ५० हजार रुपैयाँसम्म मात्रै खर्च गर्न पाउँछन् ।
यस्तै उपमहानगरपालिकामा मेयर तथा उपमेयरका उम्मेदवारले साढे पाँच लाख र नगरपालिकामा मेयर तथा उपमेयरका उम्मेदवार बनेकाले चार लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउँछन् ।
यस्तै गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवारले बढीमा तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ । वडाध्यक्ष तथा सदस्यका उम्मेदवारमध्ये महानगरतर्फ तीन लाख ५० हजार, उपमहानगरपालिकातर्फ दुई लाख ५० हजार, नगरपालिकामा दुई लाख र गाउँपालिकामा एक लाख ५० हजारसम्म मात्रै खर्च गर्न पाउनेछन् ।
![](https://bolanyathali.com/wp-content/uploads/2024/09/maya-metro_0_20230425175647.gif)