स्थानीय तहको निर्वाचनका लागि १ लाख १८ हजार म्यादी प्रहरीको माग
प्रहरी प्रधान कार्यालयले स्थानीय तहको निर्वाचनका लागि सवा लाख म्यादी प्रहरीको माग गरेको छ।यस विषयमा अर्थ मन्त्रालयसँग सघन छलफल चलिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
छलफलमा प्रहरी प्रधान कार्यालयले कम्तीमा १ लाख १८ हजार म्यादी प्रहरी चाहिने बताएको छ। अर्थ मन्त्रालयले संख्या र बजेटबारे निर्णय र सहमति दिइसकेको छैन।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले अहिले म्यादी प्रहरी भर्नाका लागि बजेट स्वीकृत भइनसकेकाले संख्या यकिन गर्न नसकिने बताए।
स्थानीय निकायको निर्वाचन वैशाख ३० मा तोकिएको छ। तोकिएकै समयमा निर्वाचन गर्ने प्रतिवद्धता सरकारको छ।निर्वाचन आयोगलाई अर्थ मन्त्रालयले स्थानीय निकायको निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ बजेट खर्च गर्ने सहमति दिएको छ।
सामाजिक सञ्जालहरूमा प्रहरी प्रधान कार्यालयले संख्या तोकेर म्यादी प्रहरीको भर्ना खुलाएको भन्ने प्रसंग सत्य नभएको प्रधान कार्यालयले जनाएको छ।