दुई महिना अघि खरिद गरेको अमरगढीको नगर बस थन्कियो

बोलन्या थली | ६ माघ २०७८, बिहीबार
दुई महिना अघि खरिद गरेको अमरगढीको नगर बस थन्कियो

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकाको नगर बस सञ्चालनमा आउन सकेको छैन । करिब दुई महिनाअघि खरिद गरेको नगर बस सञ्चालनमा नआएको हो ।नगर बस सञ्चालन गर्न आवश्यक मापदण्ड बनाउन नसक्दा सेवा सुचारु गर्न नसकिएको अमरगढी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमन्त पन्तले बताए ।  

बस सञ्चालनको मापदण्डमा बस भाडा तथा बसका चालक तथा सह–चालकको तलब भत्ता समेत समावेश गर्नुपर्ने व्यवस्था छ । कार्यविधिको मस्यौदा नै तयार नभएकाले बस सञ्चालन गर्ने अझै समय लाग्ने नगरपालिकाले जनाएको छ ।

कार्यविधि नगर कार्यपालिकाले पास गरेपछि मात्र मान्य हुने गरेको छ । तर, अमरगढी नगरपालिकामा २ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन । डडेल्धुरामा अमरगढी नगरपालिकाले पहिलो पटक नगर क्षेत्रमा सञ्चालन गर्न बस खरिद गरेको हो ।

नगरपालिकाका अनुसार ठेक्का सम्झौता मार्फत चालकसहित ३६ सिट पास भएको बस खरिद गरिएको हो । बस खरिदका लागि नगरपालिकाले ३६ लाख रुपैयाँको टेण्डर आह्वान गरेको गरेको थियो । ३५ लाख ७० हजार रुपैयाँमा बस खरिद गरिएको नगरपालिकाले जानकारी दिएको छ । खरिद गरेको बस तत्काल सञ्चालन गरेर नागरिकलाई सेवा दिनुपर्ने नगरवासीको माग छ ।  

जनाअवजको टिप्पणीहरू