दार्चुलामा बाढी पहिरो : उद्धार र पुनःस्थापनामा खट्न मन्त्री जोशीको निर्देशन

बोलन्या थली | १४ भाद्र २०७८, सोमबार
दार्चुलामा बाढी पहिरो : उद्धार र पुनःस्थापनामा खट्न मन्त्री जोशीको निर्देशन

धनगढी । दार्चुलामा अविरल बर्षापछि आएको बाढी र पहिरोले समस्यामा परेका नागरिकहरुको उद्धारमा सहयोग गर्न सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले स्थानीय प्रशासनलाई निर्देशन दिनु भएको छ ।

गएराति जिल्लाका विभिन्न स्थानमा बर्षाका कारण बाढी र पहिरोले धनजनको क्षती भएपछि मन्त्री जोशीले उद्धार, खोज, राहत र पुनःस्थापना लगायतका काममा स्थानीय सुरक्षा निकाय, प्रशासन र स्थानीय सरकारलाई सहयोग गर्न निर्देशन दिनु भएको हो ।

”अविरल बर्षाको कारण दार्चुला जिल्लामा भएको मानवीय र भौतिक क्षतिले अत्यन्तै दुखित तुल्याएको छ’, उहाँले भन्नुभयो,’उद्दार, खोज, राहत , पुनःस्थापना लगायतका काममा स्थानीय सुरक्षा निकाय,प्रशासन, स्थानीय सरकारलाई सहयोग गरी वास्तविक पीडितलाई सहयोग गरिदिन अपील गर्दछु।” साथै उहाँले प्रदेश सरकार सदैव आवश्यक सहयोग गर्न तयार रहेको समेत बताउनुभयो ।

जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोले क्षती पुर्‍याएको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले जानकारी दिनुभयो । ”महाकाली नगरपालिकाको श्रीबगर भन्ने स्थान लगायतका ठाउँमा क्षती पुगेको छ’, उहाँले भन्नुभयो,’म अहिले घटना स्थलमै रहेको र उद्धार लगायतका कामहरु भईरहेका छन ।”

यकिन विवरण नआएको बताउँदै उहाँले दुईजना वेपत्ता र एकजनाको मृत्यु भएको भन्ने जानकारी आएको बताउनुभयो । घटनास्थलमा अहिले सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीय र सरोकारवाला निकायको टोली खटिएर उद्धार कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो । 

जनाअवजको टिप्पणीहरू