दार्चुलामा बाढी पहिरोको वितण्डा : एकको मृत्यु, दुई जना वेपत्ता
दार्चुला । लगातार भइरहेको वर्षाले दार्चुलाका विभिन्न ठाउँमा जनधनको क्षति गरेको छ । गएराति पहिरो खस्दा दुँहू गाउँपालिका–१ बास्पालीमा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
घरमाथिबाट खसेको पहिरोमा पुरिएर बास्पालीका ६५ वर्षीय नर सिंह महरको मृत्यु भएको तथा उनकी ६० वर्षीया श्रीमती कौशिला महर बेपत्ता रहेको स्थानीय राम सिंह महरले जानकारी दिए ।
यस्तै दुहुँ गाउँपालिका–५ सुत्खोलामा पनि पहिरोले घर पुर्दा ५० वर्षीय मनुवा डडाल बेपत्ता भएको सोमनाथ आधारभुत विद्यालयका शिक्षक मान सिंह डडालले जानकारी दिए । वेपत्ता डडालको खोजी भइरहेको जनाइएको छ । बाढी तथा पहिरोले दुहुँ गाउँपालिकाका आधा दर्जन घरहरु जोखिम रहेका छन् । बाढीले २ लघुजलविद्युत आयोजना, २ झोलुङ्गे पुल, १ आरसीसी पुल बगाएको छ ।
यस्तै गएराति नै निजाङ्ग खोलामा आएको बाढीले महाकाली नगरपालिका–१ श्रीबगडस्थित तिंकर सडकको पक्की मोटरेवल पुल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका ४ पसलहरु बगाएको छ । घटनास्थलमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरीक्षक ध्रुव विष्टले जानकारी दिए ।