बझाङकी बेसहारा उजेलीलाई उपचारमा आर्थिक अभाव

बोलन्या थली | २२ श्रावण २०७८, शुक्रबार
बझाङकी बेसहारा उजेलीलाई उपचारमा आर्थिक अभाव

बझाङ ।  सानो आन्द्रामा समस्या भएर सिकिस्त भएकी बझाङको तल्कोट गाउँपालिका–२ ढुगानाकी २६ वर्षीया बेसहारा महिलालाई उपचारमा समस्या भएको छ । तत्काल शल्यक्रिया नगरे ज्यानै जान सक्ने जोखिममा रहेकी उजली ऐडीको उपचारमा आर्थिक अभाव भएको हो ।

सानो आन्द्रामा अवरोध भएर बुधबार जिल्ला अस्पताल भर्ना भएकी उजलीलाई त्यहाँ उपचार हुन नसकेपछि धनगढी पठाइएको थियो । उनी ८ वर्षको छँदा आमाको मृत्यु भएको र १४ वर्षको उमेरमा बुबाको पनि मृत्यु भएपछि पूर्ण रूपमा बेसहारा छिन् । पिठ्युँको भाग कुप्रो परेकी उनी शारीरिक रूपमा अपांगता समेत भएकी हुन् ।

गाउँमा छरछिमेकीको गाईबाख्रा चराउने र घाँसदाउरा गरेर जीविका चलाउँदै आएकी उनको उपचारमा सहयोग गर्ने आफन्तसमेत नरहेको बुझिएको छ । तत्काल अप्रेसन नभए आन्द्रामा प्वाल पर्ने सम्भावना रहेको जिल्ला अस्पताल बझाङका डाक्टर योगेन्द्र खातीले बताए । डाक्टर खातीले उनको जिल्लामा उपचार हुन नसक्ने भएपछि स्वास्थ्यकर्मीले चन्दा उठाएर उजलालाई हवाईजहाजमार्फत धनगढी पठाएको बताए ।

अहिले उनको प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । चिकित्सकहरूले उनको स्वास्थ्य समस्या निदान गर्ने काम गरिरहेको उजलाको साथमा रहेकी उनकै गाउँले पार्वती ऐडीले बताइन् । धनगढीमा उपचार सम्भव नभए उनलाई अन्यत्रै लैजानुपर्ने अवस्था रहेको र उनलाई उपचार खर्च र सहयोगीको आवश्यकता परेको उनको भनाइ छ ।

आमाबुबा र सहोदर दिदीको मृत्युपछि उजली बेसहारा भएकी हुन् । घरमा सौतेनी आमा छन् । उजल गाउँ–गाउँ डुलेर जीविका चलाइरहेकी थिइन् । उनलाई सहयोग गर्ने एक जना सौतेनी भाइ भए पनि उनी भारतमा रहेकाले उजलीको उपचार र हेरचाह गर्न समस्या भएको उजलीको साथमा रहेकी उनकै गाउँले पार्वती ऐडीले बताइन् । 

जनाअवजको टिप्पणीहरू